काठमाडौं । नेपाली पारा तेक्वान्दोका पूर्व प्रशिक्षक कल्याण कुँवरले कोरोना भाईरसबाट प्रभावित राष्ट्रिय टोलीका ७ खेलाडीलाई आर्थिक सहयोग गरेका छन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमीमा शनिबार आयोजित एक कार्यक्रमबीच पारा तेक्वान्दो टोलीका प्रशिक्षक कविराज नेगी लामाले खेलाडीलाई कुँवरले उपलब्ध गराएको आर्थिक सहयोग प्रदान गरे ।
कोरोना भाइरसको संक्रमणसँगै लकडाउनका कारण समस्या परेका खेलाडीलाई पूर्व प्रशिक्षक कुँवरले सहयोग गरेका हुन् ।
नेपाली पारा तेक्वान्दोमा धेरै सफलता दिएका कुँवरले खेलाडीलाई जनही तीन हजार रुपैयाँ सहयोग गरेका थिए । जसमा प्रशिक्षक लामाले पनि खेलाडीलाई थप १÷१ हजार थपिदिएका थिए ।
नेपाली पारा खेलकुदमा बाह्रै महिना प्रशिक्षण गर्ने खेलको रूपमा पारा तेक्वान्दो स्थापित छ । तर, महामारीपछि नेपालमा लकडाउन सुरु भएपश्चात् अन्य खेलजस्तै पारा तेक्वान्दो टोलीको प्रशिक्षण पनि प्रभावित भएको थियो ।
नेपाली टोलीले जापानमा आयोजना हुने पारालम्पिकको छनोटका लागि प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षणमा तयारी गरेका थिए ।
यसअघि नेपाल तेक्वान्दो पारा तेक्वान्दो कमिटीले पनि खेलाडीहरूलाई खाद्यान्न र आर्थिक सहयोग प्रदान गरेको थियो ।
प्रशिक्षकद्वय कुँवर र लामाले पनि खेलाडीलाई थप सहयोग गर्ने उद्देश्यले आफै अग्रसरता देखाएका हुन् । सो अवसरमा खेलाडीद्वय रन्जना धामी र राम अधिकारीले आफ्नै प्रशिक्षकहरूबाट मिलेको सहयोगले आफूहरूको जीवनमा विशेष अर्थ राख्ने बताए ।
‘उहाँहरूले हामी शिक्षा दिनुभयो र गुरु दक्षिण हामीले दिनुपर्ने हो । तर हाम्रो समस्यालाई बुझेर साथ दिनु भएको छ र यो हाम्रो लागि लाखौं बराबरको सहयोग हुनेछ,’खेलाडीहरूले भने ।