काठमाडौं । कीर्तिमानी पौडीबाज गौरिका सिंहले आफ्नो कीर्तिमान अरुले भंग गरे अझै खुसी हुने बताएकी छिन् ।
दक्षिण एसियाली खेलकुदको ईतिहासमा नेपालकोतर्फबाट एकै संस्करणमा चार स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी गौरिकाले आफुले कायम गरेको कीर्तिमान अरुले भंग गरेमा आफुलाई खुसी मिल्ने बताएकी हुन् ।
उनले यस बर्ष नयाँ प्रशिक्षक राखेर अभ्यास गरेको बताउँदै ४ स्वर्ण आउने बिषय आफुलाई थाहा नभएको बताईन् ।
‘यो बर्ष नयाँ प्रशिक्षक राखेर अभ्यास गरेको थिए । ४ स्वर्ण आउँछ भनेर थाहा थिएन । तर खुसी छु ।’ उनले भनिन् ।
ओलम्पियन गौरिकाले सोमबार सय मिटर फ्रिस्टाईलमा स्वर्ण जित्दै १३ औं सागमा स्वर्ण संख्या चार पुर्याएकी छिन् ।
उनले १३ औं सागमा ४ स्वर्ण, २ रजत र ३ कास्य सहित ९ पदक जितेकी छिन् ।
‘सबैभन्दा राम्रो सय मिटर फ्रिस्टाईल हो । सबैले साथ दिनुभयो । नतिजा हेर्दा मेरो सात्तो नै गयो ।’ उनले भनिन् ।
गौरिकाले १२ औं सागमा १ रजत र ३ कास्य जितेकी थिईन् ।
उनले आफ्नो सफलताको श्रेय परिवारका सदस्यलाई दिईन् ।
गौरिकाले अबको लक्ष्य ओलम्पिक छनोट रहेको भन्दै त्यसमा आफुले तयारी गर्ने बताईन् ।
‘केहि सयम यहाँ बस्छु । म अझै बच्चा छु । स्विमिङ त खेल्छु ।’ उनले भनिन्, ‘ओलम्पिक छनोटको तयारी गर्नुछ । ९ महिना छ । त्यही सोचिरहेको छु ।’