काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालका दुई खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिका सिंह र एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् ।
महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट चरणमा गौरिकाले २ मिनेट ३४.१६ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाईन् ।
गौरिकाले आठौं राष्ट्रिय खेलकुदमा बनाएको आफ्नै नाममा रहेको २ मिनेट ४१.२५ सेकेण्डको कीर्तिमानमा सुधार गरेकी हुन् ।
यस्तै पुरुष ५० मिटर फ्रिस्टाइलको हिट चरणमा एलेक्जेन्डरले २४.३९ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाए । उनले आठौ राष्ट्रिय खेलकुदमा आफ्नै नाममा रहेको २५.०६ सेकेण्डको कीर्तिमानमा सुधार गरेका हुन् ।