काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा बिहीबार महिला २०० मिटर फ्रिस्टाईलमा गौरिकाले स्वर्ण जितेकी हुन् । ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दुरी पुरा गरिन् ।
गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालकाे पहिलाे स्वर्ण हो । यस अघि नेपालले टिम इभेन्टमा मात्र स्वर्ण जितेको छ ।
आठौं सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा स्वर्ण जितेका थिए ।
महिला २ सय मिटर फ्रिस्टाईलमा भारतकी सिभांगी शर्माले २ मिनेट०७.१९ सेकेण्डको समय निकाल्दै रजत र बंगलादेशकी अहमेद जुनायानाले २ मिनेट १८.१३ सेकेण्डको समयसहित कास्य जितेकी छिन् ।
महिलाको २०० ब्रेस्टस्ट्रोकमा नेपालकी डुवना लामाले रजत जितेकी छिन् । लामाले २ मिनेट ४४.६८ सेकेण्डको समय निकालिन ।
यस स्पर्धामा भारतले स्वर्ण जितेको छ । भारतकी अपेक्षा फर्नान्डेजले २ मिनेट ३८.०५ सेकेण्डको समय निकालिन । श्रीलंकाकी रामुदी नुलाराले २ मिनेट ४४.७७ सेकेण्डसहित कास्य जितिन् ।
यस्तै महिला ४ सय मिटर फ्रिस्टाइल रिलेमा नेपालले कास्य जितेको छ ।
नेपाली टिममा गौरिका सिंह,अनुशिया तन्डुकार,टिसा शाक्य र डुवना लामा रहेकी थिइन् ।