काठमाडौं । फुटबलर गणेश थापाको आत्मकथा आउने भएको छ । करिब ३५ बर्ष खेलाडी र प्रशासकको रुपमा फुटबलमा बिताएका गणेश थापाले आत्मकथा ल्याउने भएका हुन् ।
उनी पछिल्लो समय विश्व फुटबलको सर्वोच्च निकाय फिफाको कारबाहीमा छन् । उनी फुटबल नेतृत्वमा रहदाँ ५८ करोड भ्रष्टचारको आरोपमा संसदीय समितिदेखि सम्पत्ती शुद्विकरण आयोगमा मुद्वा चल्यो । तर थापाले सबै निकायबाट आफुले सफाई पाएको दाबी गर्दै आएका छन् । तर ५८ करोड भ्रष्टाचारको आरोपमा आफुलाई बदनाम गराउन खोजिएको उनको जिकिर रहदै आएको छ ।
फुटबलमा खेलाडी र प्रशासकको रुपमा लामो समय राज गरेका थापालाई धेरैले नेपाली खेलकुदका चलाख खेलाडी मान्छन् । तर फुटबलबाट आफुले कुनै भ्रष्टाचार नगरेको उनी जिकिर छ ।
उनै थापाले खेल जिवनका विविध आयाम समेटेर पुस्तक ल्याउन लागेका छन् । उनको आत्मकथाको आईतबार एक कार्यक्रमको आयोजना गरेर आवरण सार्वजनीक गरिएको छ । कार्यक्रमको अधिकांश समय थापाले आफुमाथि लागेको ५८ करोड भ्रष्टाचारको आरोप खण्डनमै बिताए । कार्यक्रममा उनले राखेको मन्तव्यको सम्पादीत अंश :
मेरो मृत्युपछि कसैले पनि गणेश थापा महान हुनुहुन्थ्यो, राम्रो हुनुहुन्छ भनेर नलेखिदिनुहोला । त्यसरी लेख्दा मेरो आत्मालाई शान्ति मिल्दैन । मेरो मृत्यपछि मेरा शव एन्फा र खेलकुद परिषदमा लगेर हसाउने काम नगर्नुहोस । त्यति धेरै पिडा मैले भोगेको छु । मेरो ब्यक्तिगत रुपमा कसैसँग पनि आग्रह, पुर्वाग्रह छैन । तर कहिले काहि यस्ता कुरा सोच्छु । मैले ३०–३५ बर्ष फुटबलको लागि काम गरे । मेरो ठुलो चरित्र हत्या भएको छ ।
लेखा समितिले मप्रति अन्याय गर्याे । कुनै पनि ब्यक्तिको छानबिननै नगरि दुई पक्षलाई बोलाएर, एक पक्षले आरोप लगाउने, अर्काे पक्षले आरोप सुन्ने, त्यसैको भरमा मलाई निलम्बन गरियो । जसलाई पनि निलम्बन गर्नुअघि उपसमिति बनाईन्छ, छानविन हुन्छ, दोषी को छ ? त्यसलाई कारबाहि हुन्छ । लेखा समिति भनेको मिनि संसद हो । उसले किन अख्तियारलाई प्रश्न गरेन ? यस्ता विषयमा लेखा समितिले प्रश्न गर्न पाउँथ्यो । किन गरिएन भने यो कुनै प्रकारको आरोप नै थिएन ।
मानिसहरु हमामले दिएको २ लाख डलरको कुरा गरिरहेका छन् । हमामले मलाई अहिले पनि सहयोग गरिरहेका छ । तर अहिले किन यसको बारेमा कुरा आउँदैन ? उसलाई जिताउन भोट किनेको भनेर आरोप आयो ।
अहिलेको राष्ट्रिय टिमको जितमा कसैले जस लिने ठाउँनै छैन । सबै ५ बर्ष अघि उत्पादन भएका खेलाडीबाट रिजल्ट आएका हुन् । यिनीहरुले राम्रो नतिजा आउँदा वा नराम्रो आउँदा सबैको जस मैले लिनुपर्छ ।
उहाँहरुले (नयाँ नेतृत्व) तयारी गरेको टिम भनेको यू–१५ र यू–१८ हो । त्यसमा सफलता हासिल गरेपछि उहाँहरुले मान्नुपर्छ । हैन भने अहिलेको राष्ट्रिय टिममा रहेका खेलाडी पछिल्ला पाँच बर्ष भित्र आएका हैनन् ।
फुटबल संघमा भ्रष्टाचार भएको भनेर आएपछि म मात्रै त त्यहाँ हुन्न नि । कार्यसमितिका महासचिव, उपाध्यक्ष, सचिव, एकाउन्टेन हुन सक्छ । किन अध्यक्ष मात्रै त ?
मेरो भागमा पुरै हो कि ? कति हो ? कुनै कुरा आएन । त्यसको छानविन होस । प्रमाणित भए सजाय भोग्य तयार छु ।
मेरोबिरुद्ध ५–५ वटा आयोग लागे । खै त कारवाहि भएन । मलाई जति भ्रष्टाचार भएको आरोप लागेको छ, आरोप प्रमाणित भए मर्नु अघि सबै तिर्न तयार छु ।
राष्ट्रिय टिम जस्तो स्थानमा प्रारम्भिक चरणमा हुदै नभएको खेलाडी लैजादा अध्यक्ष र प्रवक्ताले मलाई थाहा छैन भन्न मिल्छ ? जिम्वेबारी लिनु पर्दैन । उहाँहरुलाई कहाँबाट छुट भयो । कि ती खेलाडीहरु नेपालका लागि उत्कृष्ट हुन् भनेर प्रमाणित गर्नुपर्याे ।
देशमा महत्वपुर्ण प्रतियोगिता हुँदा कुनै पदाधिकारी खेल हेर्न जादैनन् । तर अष्ट्रेलिया भनेपनि सबै जना उतै लाग्छन् ।
कहिले काँही विप्लपको पार्टीमा जान मन लाग्छ । निकै छटपटी हुन्छ । पाँच बर्ष निकै पिडा भोगेर बाँचेको छु ।
(गणेश थापाको आत्मकथा बुकहिलले प्रकाशनमा ल्याउन लागेकाे हो ।)