काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पौडीको छनोट प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ ।
सागका लागि छनोटको रुपमा रहेको नवौं एनएसए कप पौडी प्रतियोगिता भदौ २४ र २५ गते हुने नेपाल पौडी संघले जनाएको छ ।
छनोटमा १ सय ५० पुरुष र १ सय महिला गरी करिब २ सय खेलाडीको सहभागिता रहने छ । पुरुष/महिलामा समान १४–१४ गरी २८ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितालाई व्यवस्थित गर्न संघले संघका कोषाध्यक्ष नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
छनोटबाट सागका लागि १६ पुरुष र १२ महिला गरी २८ खेलाडी छनोट गरिने संयोजक मुस्लिमले जनाएका छन् ।
प्रतियोगितामा पुरुष/महिलातर्फ ५०, १ सय, २ सय र ४ सय मिटर फ्रिस्टायल, ५०, १ सय र २ सय मिटर ब्रेस्टस्ट्रोक, वटरफ्लाई र व्याकस्ट्रोक तथा २ सय मिटर इन्डिभिज्युल मिड्ले इभेन्टहरु सञ्चालन हुने छन् । खेलाडी छनोट फिना अंक आधारमा गरिने छ ।
छनोट बाहेक उमेरसमूहका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनि उमेरसमूहको छुट्टै प्रतिस्पर्धा समेत हुनेछ ।