काठमाडौं । नेपाल बास्केटबल लिग (एनबीएल) थ्री अन थ्री इस्टको उपाधि धरानको होराइजनले जितेको छ ।
झापाको विर्तामोडमा मंगलबार भएको फाइनलमा धरानकै इटहरी स्ट्याग्सलाई १५–१३ ले पराजित गर्दै होराइजनले उपाधि जितेको हो ।
उपाधिसँगै होराइजनले ५० हजार र स्ट्याग्सले २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
यस्तै होराइजनले धरान लेगको फाइनलमा भएको पराजयको बदला लिएको छ । उक्त खेलमा स्ट्याग्स १३–१० ले बिजयी भएको थियो ।
अन्तिम समय टेक्निकल फलबाट दुई फ्रि थ्रो पाएपछि होराइजनको जित सम्भव भएको थियो । त्यो समय दुवै टोलीको समान १३ अंक रहेको थियो । होराइजनको जितमा कविन मगरले महत्वपूर्ण आठ अंकको योगदान दिए । सेमिफाइनलमा पनि ११ स्कोर गरेका उनले फाइनल्समा कुल ३५ स्कोर गरे ।
यस्तै प्रतियोगितामा सर्वाधिक ४३ अंक गरेका उज्जवल राईले फाइनलमा ६ स्कोर गरे । इस्टर्न स्विसका रबिन गौतम र इटहरी स्ट्याग्सका सुमन बस्नेतले समान ३८ अंक गरेका थिए । बिराटनगरको बिजेता इस्टर्न स्विस भने सेमिफाइनलमा चुक्न पुग्यो । उसले सेमिफाइनलमा इटहरी स्ट्याग्ससँग २१–१७ ले पराजय व्यहोरेको थियो ।
होराइजनले सेमिफाइनलमा बिराटनगरको बिजेता बाल कल्याण्ड बिद्या मन्दिरलाई २१–८ को फराकिलो अन्तरले पराजित गरेको थियो । बिर्तामोडमा पहिलो दुई स्थान ओगट्ने टोली टि भ्याली इलाम बास्केटबल क्लब र बिटिएम हुलिगन भने समुह चरण बाटै बाहिरिएका थिए ।
बिपन्न बाल बलिका खेलकुद नेपालल (पिडिसिएन) ले आयोजना गरेका प्रतियोगितामा पूर्वका तीन शहरबाट कुल २९ टोलीले सहभागिता जनाएका थिए ।