काठमाडौं । नेपाल बास्केटबल लिग (एनबीएल) थ्री अन थ्री इस्ट अन्तर्गत विर्तामोडको उपाधि टि भ्याली इलाम बास्केटबल क्लबले जितेको छ ।
टावर टेम्पल स्कुलमा आइतबार भएको फाइनलमा टि भ्यालीले बिटिएम हुलिगनलाई १८–१२ ले पराजित गर्यो । फाइनलमा टि भ्यालीलाई जित दिलाउन गणेश राज सुवेदी एक्लैले १६ अंकको योगदान दिएका थिए । उनले प्रतियोगिता भरि कुल २१ अंकको योगदान दिए ।
उपाधि विजेता टि भ्याली र उपविजेता बिटिएम हुलिगन भदौ १० मा विर्तामोडमा हुने थ्री अन थ्री इस्टको फाइनल्समा छनोट भएका छन् ।
योसँगै थ्री अन थ्री इस्टको फाइनल्समा पुगे सबै ६ टोलीको टुंगो लागेको छ । अब फाइनल्समा टि भ्याली र हुलिगनसँगै विराटनगरको इस्टर्न स्विस र बाल कल्याण बिद्या मन्दिर तथा इटहरी स्ट्याग्स र होराइजनले प्रतिस्पर्धा गर्नेछन् ।
टावर टेम्पल स्कुलमै हुने फाइनल्समा ६ टिमलाई दुई समूहमा विभाजन गरेर डबल लिगका आधारमा प्रतिस्पर्धा गराइनेछ । शीर्ष दुई स्थान हात पार्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
फाइनल्समा पहिलो दुई स्थान ओगट्ने टोलीले ५० हजार र २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।