काठमाडौं । हंगेरीको बुडापेस्टमा जारी सातौं विश्व जुनियर पौडी प्रतियोगितामा नेपालका दुई जना खेलाडी राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् ।
एक सय मिटर बटरफ्लाईमा शाहीद हम्जा शाहले तीन दशक अघिको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् । शाहले ०१.०१.२२ सेकेण्डको टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।
यसअघि यो कीर्तिमान ०१.०३.४३ सेकेण्डको टाइमिङमा आनन्द लेप्चाको नाममा थियो । लेप्चाले यो कीर्तिमान सन् १९८९ मा बनाएका थिए ।
त्यस्तै एक सय मिटर ब्रेस्ट स्टोकमा विद्या संस्कार स्कुलमा कक्षा १० मा अध्ययनरत अदिप्सा वैद्यले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । वैद्यले ०१.२३.८९ सेकेण्डको टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि यो कीर्तिमान ०१.२५. ८२ सेकेण्डको टाइमिङमा टिसा शाक्यको नाममा थियो ।
अगष्ट २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौति प्रस्तुत गरिरहेका छन् । प्रतियोगितामा सहभागी हुने पुरुष पौडीबाजहरुमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल रहेका छन् ।
महिलातर्फ टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले सहभागिता जनाइरहेका छन् । प्रशिक्षकमा ईश्वर कार्की तथा टिम व्यवस्थापकमा वैभव पौडेल छन् ।