काठमाडौं । नेपाल बास्केटबल लिग (एनबीएल) थ्री अन थ्री इस्ट प्रतियोगिताको तयारी पुरा भएको छ ।
आयोजक नेपाल बास्केटबल लिग (एनबीएल) र प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले बिहिबार पत्रकार सम्मेलन गर्दै शुक्रबार (भोलि) बाट सुरु हुने एनबीएल थ्री अन थ्री इस्टको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
एनबीएल थ्री अन थ्री इस्ट प्रतियोगिता झापाको विर्तामोड, सुनसरीको धरान र मोरङको विराटनगरमा हुनेछ । प्रतियोगिता भदौ ६ देखि ११ गतेसम्म हुनेछ ।
प्रतियोगितामा धरानमा १४ टिम, विर्तामोड र विराटनगरमा समान ८/८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो चरणमा तीनै स्थानका टोलीलाई नकआउटका आधारमा प्रतिस्पर्धा गराईने छ । तीनै स्थानका पहिलो र दोस्रो टोलीले विर्तामोडमा हुने फाइनल चरणका लागि स्थान बनाउने छन् ।
फाइनल चरणको खेल भदौ १४ गते विर्तामोडमा हुनेछ । जसमा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराईने छ ।
एनबीएल थ्री अन थ्री बास्केटबलको हरेक टिममा ४ खेलाडी रहने छन् । र, खेलमा सबैभन्दा पहिले २१ अंक प्राप्त गर्ने टिमलाई विजेता घोषणा गरिनेछ ।
यस्तै आयोजकले एनबीएल थ्री अन थ्री वेस्ट पनि यसै फर्म्याटमा खेलाईने जनाएको छ । थ्री अन थ्री वेस्ट पोखरा, बुटवल र धनगढीमा हुनेछ । यसको मिति भने तय भएको छैन ।