काठमाडौं । नेपाल बास्केटबल लिग (एनबीएल) थ्री अन थ्री इस्ट र थ्री अन थ्री वेस्ट प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजक नेपाल बास्केटबल लिग (एनबीएल) र प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले बिहिबार पत्रकार सम्मेलन गर्दै एनबीएल थ्री अन थ्री इस्ट र वेस्ट प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ ।
एनबीएल थ्री अन थ्री इस्ट प्रतियोगिता झापाको विर्तामोड, सुनसरीको धरान र मोरंगको विराटनगरमा हुनेछ । प्रतियोगिता भदौ ६ देखि ११ गतेसम्म हुनेछ । पहिलो चरणमा तीनै स्थानबाट १०-१० टोलीलाई नकआउटका आधारमा प्रतिस्पर्धा गराईने छ ।
तीनै स्थानका पहिलो र दोस्रो टोलीले विर्तामोडमा हुने फाइनल चरणका लागि स्थान बनाउने छन् । फाइनल चरणको खेल भदौ १४ गते हुनेछ । जसमा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराईने छ ।
यस्तै एनबीएल थ्री अन थ्री वेस्ट पनि यसै फर्म्याटमा खेलाईने छ । थ्री अन थ्री वेस्ट पोखरा, बुटवल र धनगढीमा हुनेछ । यसको मिति भने तय भएको छैन । तर, कार्तिक भित्र सक्ने योजना रहेको आयोजकले जनाएको छ ।
एनबीएल थ्री अन थ्री बास्केटबलको हरेक टिममा ४ खेलाडी रहने छन् । र, खेलमा सबैभन्दा पहिले २१ अंक प्राप्त गर्ने टिमलाई विजेता घोषणा गरिनेछ ।