धनुषा । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल आर्मीसंग सहकार्य गर्दै तराईका चार जिल्लामा ग्रासरुट फुटबल कार्यक्रमको औपचारिक सुरुवात गरेको छ ।
शनिबार धनुषाको महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर एन्फाले ग्रासरुट फुटबलको औपचारिक सुभारम्भ गरेको हो ।
तराईमा रहेका बालबालिकाको फुटबल विकासमा एन्फाले आर्मीसंग मिलेर ब्यारेकमा रहेको फुटबल मैदानमा ग्रासरुट कार्यक्रम सञ्चालनको प्रस्ताव गरेको थियो । एन्फाको प्रस्तावमा चार जिल्लाका गणपति सकारात्मक भएपछि प्रक्रिया अघि बढेको हो ।
एन्फाले आर्मीसंग सहकार्य गर्दै सिराहा, सप्तरी, धनुषा र महोत्तरीमा ग्रासरुट फुटबल सञ्चालन गर्नेछ ।
एन्फाले देशैभर ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गर्दै आएको छ । एन्फाले यसअघि सार्वजनीक गरेको कार्यक्रम अनुसार सिराहा, सप्तरी, धनुषा र महोत्तरीका जिल्ला फुटबल संघले समेत ग्रासरुट कार्यक्रम आयोजना गर्दै आएका थिए ।
एन्फाले तराईका जिल्लामा फुटबलका गतिविधि बढाउन र मधेशका बालबालिकाको फुटबलसंग जोड्न आर्मीसंग सहकार्यको प्रस्ताव गरेको थियो । एन्फाको प्रस्तावमा चार जिल्लामा रहेका आर्मीका नेतृत्वले सहमती जनाएका थिए ।
एन्फाले सञ्चालन गरेको ग्रासरुट आर्मीको ब्यारेकमा हरेक शनिबार सञ्चालन हुनेछ । जसमा ६ देखि १२ सम्मका उमेर समुहका बालबालिका सहभागी हुनेछन् ।
२७ नम्बर बाहिनी अन्तर्गत धनुषा जिल्लामा शनिबार औपचारिक उद्घाटन गरिएको कार्यक्रममा करिब ३ सय बालबालिका सहभागी रहेका थिए ।
ग्रासरुट सञ्चलन गर्न एन्फाले प्रत्येक जिल्लाका ५ जना आर्मीका प्रशिक्षकलाई दुई दिने तालिम दिएको थियो । एन्फाको तालिमबाट चार जिल्लामा २० जनाले ग्रासरुट प्रशिक्षकको प्रशिक्षण लिएका थिए ।
एन्फाले तल्लो तहबाट खेलाडी उत्पादनको लक्ष्य सहित देशभर ग्रासरुटका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
एन्फाका सदस्य जिल्लाले नियमित रुपमा प्रत्येक शनिबार ग्रासरुट कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।