काठमाडौं । नेपाली बास्केटबल खेलकै सर्वाधिक ठुलो प्रतियोगिता क्विक्स नेपाल बास्केटबल लिगमा सदिश प्रधान र अनुषा मल्ल 'मोष्ट भ्यालुएबल' खेलाडी बनेका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शनिबार सम्पन्न प्रतियोगिताको पुरुषतर्फ टाईम्स इन्टरनेसनल बास्केटबल क्लबका सदिश र महिलातर्फ नेपाल पुलिस क्लबकी अनुषा मोष्ट भ्यालुएबल चुनिएका हुन् । दुवैले टर्किस एयरलाइन्सबाट युरोपको फ्री टिकट प्राप्त गरे ।
नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका सदिशले आफ्नो कप्तानीमा टाईम्सलाई उपाधि दिलाएका थिए । फाइनलमा सदिशको टिमले त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । यस्तै सदिश सर्वाधिक स्कोर गर्ने खेलाडी समेत बने ।
पुरुषतर्फ बेष्ट डिफेन्सिभ खेलाडी टाईम्सका बिक्रम जोशी चुनिए । यस्तै बेष्ट कोच टाईम्सका प्रेम होना र मोष्ट इम्प्रुभ खेलाडी राम कृष्ण चुनिए ।
अनुषाको उच्च प्रदर्शनमा पुलिसले क्विक्स नेपाल महिला बास्केटबल लिगको उपाधि जितेको थियो । फाइनलमा पुलिसले भाट-भटेनी समृद्धि गोरिल्लाजलाई पराजित गरेको थियो ।
महिलातर्फ आईएसओ काइटका एलाना लिम सर्वाधिक स्कोरकर्ता बनिन् । यस्तै बेष्ट डिफेन्सिभ खेलाडी समृद्धिका सदिना श्रेष्ठ, इमर्जिङ खेलाडी साईपलकी प्रतिक्षा मगर र बेष्ट कोच पुलिसका विनोद श्रेष्ठ चुनिए ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ८ र महिलातर्फ ४ टोलीको सहभागिता रहेको थियो ।