काठमाडौं । शिलन्यासको १० बर्षपछि नेपालगञ्ज रंगशालाको पौडी पोखरी सञ्चालनमा आएको छ । २०६६ सालमा तत्कालिन खेलकुद मन्त्री गणेश नेपालीले शिलन्यास गरेको पौडी पोखरीमा शुक्रबार जिल्ला स्तीय प्रतियोगिता आयोजना गर्दै सञ्चालनमा ल्याईएको हो ।
पछिल्लो समय आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै पौडी पोखरी निर्माणको सुरुवात गरिएको थियो । तर निर्धारित समयमा काम हुन नसकेपछि पौडीका खेलहरु अन्यत्र सञ्चालन गरिएको थियो ।
२०६६ सालमा पौडी पोखरीको शिलन्यास भएपनि त्यसको दुई बर्षपछि मात्र डीपीआर तयार भएर काम अघि बढेको थियो । तर परियोजना बहुबर्षीय योजनामा समावेश नहुदाँ पोखराी निर्माणको कामले गति लिन सकेको थिएन ।
प्रदेश नम्बर ५ मा आठौं राष्ट्रिय खेलकुद आयोजना हुने तय भएपछि पौडी पोखरीलाई समेत पुर्वाधार निर्माण योजनामा समावेश गरिएको थियो । सोही अनुसार २०७४ सालमा टेण्डर प्रक्रिया अघि बढाईएको थियो । दुई बर्ष भित्र निर्माण कार्य सक्ने लक्ष्य राखिएपनि समयमा बजेट उपलब्ध नहुदाँ २०७६ साल जेठको तेस्रो साताभित्र पोखरी हस्तान्तरण हुन सकेन ।
पौडी पोखरी तयार भएपछि शुक्रबार पहिलो पटक प्रथम जिल्लास्तरीय पौडी प्रतियोगिता सञ्चालन गरिएको छ ।
प्रदेश नम्बर ५ का खेलुकद विकास समितिका अध्यक्ष भिम ओलीले पौडी पोखरी तयार भएको र सोही अनुसार परिक्षणको रुपमा पोखरीमा प्रतियोगिता आयोजना गरिएको खेलपाटीलाई बताए ।
‘पोखरीको औपचारिक उद्घाटन असारको अन्तिममा गर्ने तयारी छ । प्रतियोगिता आयोजना गरेर अहिलेलाई पोखरीको परिक्षण गरिएको हो । पौडी पोखरी लगभग तयारी अवस्थामा छ ।’ उनले भने ।
नेपालगञ्ज रंगशालाको हाता भित्र रहेको पौडी पोखरीको लम्बाई ५० मिटर र चौडाई २५ मिटर रहेको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका पुर्वाधार निर्माण शाखाका ईन्जिनियर विश्वमित्र सञ्जेलका अनुसार १० लेनको पौडी पोखरीको गहिराई ३ देखी ५ मिटर सम्म रहेको छ ।
पौडी पोखरीसंगै १५ सय दर्शक अट्ने प्यारापिट समेत बनेको छ । पोखरीसंगै खेलाडीको चेन्जिङ रुम, अफिसियल रुप, क्यान्टिन र टिकट घर सहितको भवन बनेको छ ।
पौडी पोखरी निर्माणमा करिब १८ करोड रुपैयाँ खर्च लाग्ने देखिएको छ । चालु आर्थिक बर्षमा पौडी पोखरीका लागि सरकारले मात्र १ करोड ७५ लाख रुपैयाँमात्र विनियोजन गरिएको थियो ।