काठमाडौं । नेपालका कराते खेलाडी पर्शुराम बाँस्तोलाले चेक रिपब्किकमा आयोजना भएको सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा स्वर्ण पदक जितेका छन् ।
पर्शुरामले ३४ देखि ४५ बर्ष उमेर समूहको मास्टर्स एकल पुरुष कातामा चेक रिपब्लिकका खेलाडीलाई ५-० ले हराएर स्वर्ण जितेका हुन् । त्यसअघि उनले पहिलो चरणमा अष्ट्रिया, क्वाटर र सेमिफाइनलमा चेक रिपब्लिकका खेलाडीलाई हराएका थिए ।
यस्तै पर्शुरामले व्यक्तिगत सिनियर पुरुषको एकल कातामा रजत जिते । फाइनलमा चेक रिपब्लिकका खेलाडीसंग ३-२ ले पराजित भए ।
नेपालका अन्य ३ खेलाडीले पनि रजत जितेका छन् । यू-२१ को ६० केजीमुनि पुरुष कुमुतेमा दोर्जे लामा फाइनलमा घरेलु टोलीका खेलाडीसंग पराजित हुँदै रजत जिते ।
यू-२१ को ६७ केजी सिनियर पुरुष कुमुतेमा रोहित बुढाथोकीले रजत हात पारे । फाइनलमा रोहित घरेलु टोलीका खेलाडीसंग नै पराजित भए ।
त्यस्तै ७५ केजी मुनि सिनियर पुरुष कुमुतेमा शुसिल पौडेलले फाइनलमा घरेलु टोलीसंग हार व्यहोर्दा रजतमा चित्त बुझाए ।
प्रतियोगितामा नेपालले पाँचौ स्थान हासिल गर्यो । प्रतियोगितामा १८ राष्ट्र र ६२ क्लबका करिब १ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।