काठमाडौं । लर्निङ जोन एकेडमीले दोस्रो संस्करणको गोल्डेन गेट अन्तर विद्यालय फुटसल प्रतियोगिता (फुटसल मेला) को उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा करियर बिल्डिङ एकेडमीलाई २-१ गोल अन्तरले पराजित गर्दै लर्निङले उपाधि जितेको हो ।
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा लर्निङका लागि प्रविन लामा र प्रमित मगरले एक एक गोल गरे । करियरका आकाश साहले एक गोल फर्काए ।
कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गरेको प्रतियोगिताको उपाधिसंगै लर्निङले नगद ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको करियरले २० हजारमा चित्त बुझायो ।
यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर लर्निङका अजिज गुरुङ, डिफेन्डरमा करियरका आकाश साह,मिडफिल्डरमा आयुष श्रेष्ठ, फरवार्डमा लर्निङ प्रविन लामा र प्रशिक्षकमा सनसाइनका आशिष दाहाल उत्कृष्ट चुनिए । उत्कृष्ट हुनेले ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको विजेता खेलाडीहरुलाई राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजु काजी शाक्य, नेपाल बैंक लिमिटेडका बरिष्ठ प्रवन्धक शिखर नाथ र राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामा लगायतले पुरस्कृत गरे ।
दुई दिने प्रतियोगितामा उपत्यकाका ३२ टिमको सहभागिता रहेको थियो ।