काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले क्विक्स नेपाल बास्केटबल लिग अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा हार व्यहोरेको छ ।
बुधबार भएको खेलमा पुलिस रोयल बास्केटबल क्लबसंग पराजित भएको हो । रोयलले पुलिसलाई ७५-५९ अंकले पराजित गर्यो ।
रोयलको जितमा निकेश मगरले उत्कृष्ट प्रदर्शन गरे । प्लेयर अफ दि म्याच बनेका उनले १६ स्कोर गरे ।
लिग चरणको अन्तिम खेलमा जित निकालेपनि रोयल प्ले अफमा पुग्न सकेन । रोयलले १४ खेलबाट १९ अंक जोडेको छ । रोयल छैटौं स्थानमा रह्यो ।
पराजित पुलिसको भने प्ले बलियो रहेको छ । लिगको तेस्रो स्थानको पुलिसले १४ खेलबाट २० अंक जोडेको छ ।
अब लिग चरणको अन्तिम खेलबाट प्ले अफ पुग्ने दुई टोलीको तय हुनेछ । लिग चरणको अन्तिम खेलमा गोल्डेनगेट इन्टरनेसनल बास्केटबल क्लब र किर्तिपुर बास्केटबल क्लबसंग खेल्नेछ ।
गोल्डेनगेटको प्ले अफ सम्भावना बलियो रहेको छ । गोल्डेनगेटले २० अंक जोडेको छ । १६ अंक जोडेको किर्तिपुर भने बाहिरिसकेको छ ।
यस्तै प्रतियोगितामा साबिकको विजेता आर्मी र टाइम्स इन्टरनेसनल बास्केटबल क्लबले प्ले अफमा स्थान बनाईसकेका छन् ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।