काठमाडौं । अन्तराष्ट्रिय ब्राण्ड केल्मीले उत्पादन तथा वितरण गर्ने नेपालको राष्ट्रिय फुटबल टिमको जर्सी बजारमा नक्कली भेटिएको छ । फुटबल टिमको आधिकारिक जर्सी उत्पादन गर्दै आएको केल्मीका नक्कली जर्सी बजारमा खुलेयाम बिक्री वितरण भईरहेको भेटिएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले अन्तराष्ट्रिय ब्राण्ड केल्मी चाईना कम्पनीसंग लिखित सम्झौता गर्दै नेपालको आधिकारीक बिक्री वितरणको जिम्मेवारी कामारु टेडिङ्गलाई दिएको थियो ।
तर एन्फाको लोगो प्रयोग गर्दै केल्मीले डिजाईन गरेको नक्कली जर्सी बजारमा अनाधिकृत रुपमा बिक्री वितरण हुने गरेको पाईएको छ ।
केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेले केल्मीको डिजाईनमा एन्फाको लोगो प्रयोग गरेर नक्कली जर्सीमा बजारमा बिक्री वितरण गरिरहेको भेटिएको बताएका छन् ।
‘केल्मीको फुटबल जर्सी राम्रो बिक्री भईरहेको थियो । तर नक्कली जर्सी बजारमा आउदाँ सर्वसाधारणमा दुबिधा देखिएको छ । जसले गर्दा बिक्रीमा असर परेको छ । उनले भने ।
नक्कली सामानको बिक्री वितरणले केल्मीको ब्राण्डमा ठुलो धक्का पुगेको उनले बताए ।
‘यो अवस्थामा भोली कुनैपनि ब्राण्डले नेपाली बजारमा प्रतिस्पर्धा गर्न सक्दैन ।’ उनले खेलपाटीलाई भने ।
केल्मी नेपाली राष्ट्रिय फुटबल टिमको आधिकारिक जर्सी हो । गत बर्ष फागुन २० गते एन्फाले केल्मीलाई नेपाली फुटबल टिमको आधिकारिक जर्सीको रुपमा सार्वजनीक गरेको थियो ।
कानुनी उपचार खोजिन्छ – एन्फा
अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल टिमको जर्सी र खेल सामाग्री उत्पादन र वितरणको अधिकार कामारु ट्रेडिङ्ग प्रालीलाई मात्र प्रदान गरिएको भन्दै एन्फाको लोगो प्रयोग गरेर जर्सी बनाउन र वितरण नगर्न सर्वसाधारणमा अपिल गरेको छ ।
एन्फाले नेपाली बजारमा केल्मीको उत्पादनको हुबहु नक्कल गरी एन्फाको लोगो र केल्मीको जर्सी प्रयोग गरेको पाईए प्रचलित कानुन अनुसार कारबाही हुने बताएको छ ।