कठमाडौं । नेपाल वादोरियो कराते डो संघको आयोजनामा चौथो अन्तर्राष्ट्रिय कराते विशेष प्रशिक्षण सोमबार सम्पन्न भएको छ ।
एकदिने प्रशिक्षणमा ७५ जनाले सहभागिता जनाएको वादोरियो कराते संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जनाएका छन् । युएसए वादोरियो करातेका प्रमुख प्रशिक्षक सोजी निसिमुराले प्रशिक्षण दिएका थिए । निसिमुराले नै प्रशिक्षणको उद्घाटन पनि गरेका थिए ।
वादोरियो कराते डो संघकै आयोजनामा चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित यति इभेन्ट्समा हुनेछ । दुईदिने प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ केजी तौल समूह र खुल्लामा प्रतिस्पर्धा हुनेछ ।
महिलामा ३५, ४०, ४५, ५०, ५५ केजी तौल समूह र खुल्लामा प्रतिस्पर्धा हुनेछ । महिला र पुरुषमा सिनियर र जुनियर काता हुनेछ । यु–१४ मा पनि ब्वाइज र गल्र्समा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा नेपालसहित ९ देशका करिव ४ सय ४५ खेलाडीले २३ स्वर्ण, २३ रजत र ४६ कास्यका लागि प्रतिस्पर्धा गर्नेछ ।
च्याम्पियनसिपमा नेपालसँगै भारत, भुटान, बंगलादेश, श्रीलंका, जापान, अमेरिका, पाकिस्तान र म्यानमारको सहभागिता रहेको छ । च्याम्पियनसिप बसुन्धारास्थित यति इभेन्ट्समा हुनेछ ।