काठमाडौं । काठमाडौंकी अन्जली महर्जन र धादिङ्गका मनोज श्रेष्ठले प्रदेश नम्बर ३ स्तरिय दोस्रो उपराष्ट्रपति कराते प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । दुवैले कुमुते र काता गरि दुई विधामा स्वर्ण हात पारेका हुन् ।
दोस्रो उपराष्ट्रपति कपको छनोट प्रतियोगिता समेत रहेको प्रतियोगितामा काठमाडौंकी अन्जलीले छात्रा ३८ केजी तौल समूहमा भक्तपुरकी शसिका राईलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । यस्तै उनले खुला कातामा पनि काठमाण्डौकी एन्जिला महर्जनलाई पछाडी पार्दै स्वर्ण हात पारेकी हुन् । उनको तौल समूहमा सिन्धुपाल्चोककी प्रमिला तामाङ्ग र चितवनकी ममता गुरुङ्गले संयुक्त रुपमा कास्य पाए । कातामा काठमाण्डौकी दिब्या गुरुङ्गले कास्य पाईन् ।
यस्तै छात्र तर्फ धादिङ्गका मनोजले ४० केजी तौल समूहमा काठमाण्डौका नवराज पुरीलाई पराजित गर्दै स्वर्ण हात पारे । ललितपुरका विशाल डङ्गोल र रामेछापका अंकित सुवेदी संयुक्त रुपमा तेश्रो भए । दोश्रो स्वर्ण हात पार्ने क्रममा मनोजले खुला काता तर्फ काठमाण्डौका शाहिल घलेलाई पछाडी पारे । तेश्रो स्थानमा भक्तपुरका राज घ्लोन रहे ।
सागका दुई स्वर्णधारी तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा भएको प्रतियोगिताको छात्रा ३० केजीमा काठमाण्डौकी एन्जिला राईले स्वर्ण, नुवाकोटकी पुजा लामाले रजत तथा ललितपुरकी डोल्मा पाख्रिन र भक्तपुरकी किरण पाण्डेले कास्य पाए । यस्तै ३४ केजी तौलमा काठमाण्डौकी दिब्या गुरुङ्गले भक्तपुरकी शिरुषा भुजुलाई पराजित गर्दै स्वर्ण हात पारिन् । नुवाकोटकी प्राश्ना पंडित र मकवानपुरकी स्नेहा पराजुलीले कास्य पदक पाए ।
छात्र ३० केजी तौलमा भक्तपुरका राज ब्लोनले स्वर्ण हात पारे । राजले काठमाण्डौका दिपेश तामाङ्गलाई रजतमा खुम्चिन बाध्य पारे । नुवाकोटका सुजन लामा र सिन्धुपाल्चोकका आगमन दुलालले कास्य पाए । यसैगरि ३५ केजी तौलमा काठमाण्डौका शाहिल घलेले स्वर्ण, भक्तपुरका अभिषेक तामाङ्गले रजत तथा मकवानपुरका सुन्दर घले र सिन्धुपाल्चोकका लक्ष्य तामाङ्गले कास्य पाए ।