काठमाडौं । नेपालका शीर्ष तीन एमेच्योर गल्फ खेलाडी नगदसहित सम्मानित भएका छन् । नेपाल गल्फ एसोसियसनले शनिबार तीन खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा शुक्र बहादुर राई, टंक कार्की र सुबास तामाङ रहेका छन् । संघले शुक्र र टंकलाई जनही ५०/५० हजारले सम्मानित गरेको हो । यस्तै सुबास २५ हजार नगदसहित सम्मानित भए ।
शुक्रले यस सिजन दुई प्रोफेसनल उपाधि जितेका थिए । शुक्रले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप र सुर्य नेपाल ईष्टन ओपनको उपाधि जितेका थिए ।
यस्तै टंकले आठौं राष्ट्रिय खेलकुदमा स्व्रण जितेका थिए । यस्तै सुबासले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितेका थिए ।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशब कुमार बिष्ट, संघका अध्यक्ष टासी घले लगायतले खेलाडीलाई सम्मानित गरे ।
खेलाडीलाई सम्मान गरेपछि बोल्दै सदस्यसचिव बिष्टले पूर्वाधारको कारणले नेपालमा खेलाडी धेरै उत्पादन नभएको भएपनि प्रतिभावान खेलाडीहरु नेपालमा रहेको बताए ।
यस्तै उनले नेपालमा आयोजना हुने १३ औं सागमा पदक ल्याउन तयारी गर्न सुझाब दिए । सदस्यसचिव विष्टले १३ औं सागमा पदक राखेपले सक्ने सहयोग गर्ने बताए ।
यस्तै संघका अध्यक्ष घलेले सागमा नेपालले गल्फबाट पदक ल्याउने बताउदै पदक नल्याए संघबाट राजिनामा गर्ने बताए ।