काठमाडौं । एमेच्योर खेलाडी शुक्र राईले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा बिहिबार साविकको विजेता भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै शुक्रले उपाधि जितेका हुन् ।
योसंगै शुक्र एकै सिजन दुई मुख्य प्रोफेसनल गल्फको उपाधि जित्ने पहिलो नेपाली एमेच्योर खेलाडी बनेका छन् । उनले यसअघि सुर्य नेपाल ईष्टन ओपनको उपाधि जितेका थिए ।
उपाधि जित्ने क्रममा शुक्रले फाइनल चरणमा ५ अण्डर ६७ स्कोरसहित कुल ११ अण्डर २७७ स्कोर कार्ड बनाए । भुवनले ५ अण्डर ६७ सहित कुल १० अण्डर २७८ स्कोर बनाए । दोस्रो भएपनि भुवनले २ लाख ३० हजार प्राप्त गरे । एमेच्योर खेलाडीलाई नगद पुरस्कार नदिने गरेको कारण प्रोफेसनलतर्फ शीर्षमा रहेका भुवनले उक्त नगद पाएका हुन् ।
प्रतियोगितामा विकास अधिकारी दोस्रो भए । उनले १ लाख ४० हजार प्राप्त गर्दा चौंथो भएका संजय लामाले ९५ हजार प्राप्त गरे ।
४० प्रोफेसनल र २० एमेच्योर खेलाडी रहेको प्रतियोगितामा २८ प्रोफेसनल र ८ एमेच्योर खेलाडीले फाइनल चरणमा स्थान बनाएका थिए ।