काठमाडौं । सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी शुक्र राईले अग्रता बनाएका छन् ।
गोकर्ण गल्फ क्लबमा बुधबार भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै शुक्रले अग्रता बनाएका हुन् ।
फाइनल चरण पुगेका शुक्रले बुधबार २ अन्डर ७० स्कोरसहित कुल ६ अन्डर २१० स्कोर बनाए । भुवनले बुधबार ३ अन्डर ६९ सहित कुल ५ अन्डर २११ स्कोर बनाए । दोस्रो दिन शीर्ष स्थानमा रहेको सुबाश तामाङले पनि ५ अन्डर २११ स्कोर बनाएका छन् ।
प्रतियोगितामा २८ प्रोफेसनल र ८ एमेच्योर खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् ।
विजेताले २ लाख २० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ४० हजार पाउने छन् । यस्तै तेस्रोले ९५ हजार र शीर्ष २४ स्थानको खेलाडीले पनि नगद पुरस्कार पाउने छन् ।