काठमाडौं । आयोजक नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोले पाँचौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ठमेलले ८ स्वर्ण, २ रजत र ३ कांस्य जित्यो ।
लैनचौरस्थित राष्ट्रिय टेबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा भारत दोश्रो तथा भक्तपुर डोजो तेश्रो भए । पुरुषमा अभिषेक तामाङ तथा महिलामा सम्पदा बाँस्टोला उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता ८ वर्षीय आर्यन रन्जितलाई सम्मान गरिएको थियो ।