काठमाडौं । नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता जेठ दोस्रो साता सुदुरपशिम प्रदेशको धनगढीमा आयोजना हुने भएको छ ।
आयोजक राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल सुदुरपशिम प्रदेशले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा जेठ ९ गतेबाट ११ गतेसम्म संचालन हुने जनाएको छ ।
राष्ट्रबादी विकासशील अभियानको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा नेपालसहित, भारत, भुटान, पाकिस्तान, बंगालदेश र श्रीलंकाका १ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्ने संघका महासचिव तथा प्रतियोगिता संयोजक प्रकाश चन्दले जानकारी गराए । प्रतियोगिताका लागि भारतबाट मात्र ४ सय बढी खेलाडी रहने चन्दले जानकारी गराए ।
खुल्ला प्रतियोगिता भएको कारण नेपालबाट विभागीय टोली, प्रदेश डोजो लगायतका सबै खेलाडीले खेल्न पाउने छन् ।
प्रतियोगितामा काता, कुमुते र टिम कुमुतेमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ४० स्वर्ण,४० रजत र ८० कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको लागि आयोजक संघका अध्यक्ष गणेश कार्की र राष्ट्रबादी विकासशीलका अध्यक्ष कमल बहादुर सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासंगै विकासशीलले प्रतियोगिताको लागि ८ लाख बराबरीको खेल सामग्री प्रदान गर्ने छ ।
यस्तै हरि शरण केसीले प्रतियोगिताको स्वर्ण, रजत र काश्य पदक प्रायोजन गर्ने भएका छन् ।