काठमाडौं । अन्तराष्ट्रिय स्तरमा आयोजना भएका प्रतियोगितामा पदक हासिल गर्ने कराँते खेलाडीलाई नरहरिपुर शाखा कराते डोजो, चन्द्रागिरी मच्चेगाँउले सम्मान गरेको छ ।
जापान तथा भारतको मुम्बई र कलकत्तामा आयोजना भएको विभिन्न प्रतियोगितामा उपलब्धी पूर्ण नतिजा निकाल्दै पदक हात पार्न सफल आफ्ना डोजोका खेलाडी र प्रशिक्षकलाई नरहरिपुर शाखाले सम्मान गरेको हो ।
सम्मानित हुनेमा प्रशिक्षकमा रविन्द्र मानन्धर रहेका छन् ।
यस्तै सम्मानित हुने खेलाडीमा जापानमा आयोजना भएको सैजा बुदो (मिक्स मार्सलआर्ट) मा कुमिते, काता र खुला कातामा गरि तीन तीन स्वर्ण हात पारेका रेजिना बिष्ट र राधा मानन्धर, भारतको मुम्बईमा आयोजना भएको चौथो एशिया कप अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा ६८ केजी मुनि कुमितेतर्फ स्वर्ण र कातातर्फ रजत पदक हात पार्ने राजकुमार श्रेष्ठ, १२ बर्ष मुनिमा कुमिते र कातामा २ स्वर्ण हात पार्ने सन्जु देशार, जुनियरतर्फ कुमिते, काता र खुला काता गरि ३ स्वर्ण हात पार्ने सोनिम मानन्धर, १४ बर्ष मुनिको क्याडेटमा कुमिते र कातामा २ स्वर्ण हात पार्ने मुना शाक्लयलाई सम्मान गरिएको हो ।
यस्तै, कलकत्तामा आयोजनामा भएको अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा ६० केजी मुनिको तौलमा कातातर्फ रजत र कुमितेतर्फ कास्य पदक हात पार्ने प्रविण मानन्धर र ७५ केजी तौलमा कुमितेमा कास्य पदक प्राप्त गर्ने निकेश मानन्धरलाई पनि सम्मान गरिएको हो ।
पदक विजेता खेलाडीलाई डोजोका अध्यक्ष सानुभाई थापाले प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्ग, राष्ट्रिय खेलकुद परिषद राष्ट्रिय टिम तयारीका प्रमुख अर्जून बि.क लगायतको उपस्थिती रहेको थियो ।