स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

काठमाडौं। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत पिपल्स चोइस अवार्डका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन गर्दै पिपल्स च्वाइस अवार्डका लागि भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट मनोनयनमा परेको जानकारी दिएको हो।
पिपल्स चोइस अवार्डको यस वर्षको भोटिङ प्रक्रियामा नयाँ शैली अपनाइएको छ। एनएसजेएफ र विद्युतीय भुक्तानी सेवाप्रदायक खल्ती बाई आईएमईबीच भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ। सम्झौतापत्रमा खल्ती बाई आईएमईकी मेनेजर पूजा धामी र एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरे।
अब पिपल्स चोइस अवार्डका लागि खेलाडीलाई खल्तीमार्फत मत दिन सकिनेछ। मनोनयनमा परेकी मीना उदीयमान महिला भलिबल खेलाडी तथा शक्तिशाली स्पाइकर हुन्। उनले काभा महिला च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गर्नुका साथै काभा महिला क्लब च्याम्पियनसिपमा आफ्नो टोलीलाई तेस्रो स्थान दिलाउन योगदान दिएकी छन्। उनी एभरेस्ट भलिबल क्लब, बुटवलकी कप्तानसमेत हुन्।
फुटबलकी पूजाले एसियन कप छनोटअन्तर्गत उज्वेकिस्तानमा उच्च प्रदर्शन गरेकी थिइन्। उनले विदेशमा समेत व्यावसायिक फुटबल खेल्दै प्रभाव छाडेकी छन्। राना भुटानको ट्रान्सफर युनाइटेड तथा बंगलादेशका फरासगन्ज एफसी र नासरिन स्पोर्ट्स एकेडेमीसँग आबद्ध भइसकेकी छन्।
करातेकी सानुमायाले विश्व कराते च्याम्पियनसिप, कायरो, इजिप्टमा एकल कातामा सहभागिता जनाएकी छन्। उनले २१औं एसियन कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुका साथै दक्षिण एसियाली कराते च्याम्पियनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा रजत पदक जितेकी छन्। यूकेकेसी वान अल्टिमेट काता तथा कुमिते च्यालेन्जमा पनि उनले स्वर्ण जितेकी छन्।
क्रिकेटर शेरले आईसीसी टी–२० विश्वकपमा डेब्यु गर्दै पहिलो बलमै विकेट लिएका थिए। मलेसियामा भएको एसियन गेम्स क्वालिफायरमा उनले हङकङविरुद्ध चार तथा मलेसियाविरुद्ध तीन विकेट लिए। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका मल्लले प्रतियोगिताका १० खेलमा १७ विकेट लिएका थिए।
‘बझाङका बाघ’का रूपमा परिचित एमएमए फाइटर रवीन्द्र ढाँट गत वर्ष म्याट्रिक्स फाइट नाइट–१७ का बेन्टमवेट च्याम्पियन बनेका थिए। उनी एसिया–प्यासिफिक क्षेत्रमा २०५औँ वरीयतामा रहेका छन्। ढाँट रोड टु यूएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटरसमेत हुन्।
यी पाँच खेलाडीमध्ये पिपल्स चोइस अवार्डको विजेता दर्शक तथा समर्थकको मतका आधारमा छनोट हुनेछ।














-1786845162766.webp&w=3840&q=75)