फेरि मियामी पराजित

काठमाडौं। हानी मुख्तारले दोस्रो हाफमा दुई गोल गरेपछि नासभिल एससीले लिओनल मेसीसम्मेलित इन्टर मियामीलाई ४–१ ले पराजित गरेको छ।
आइतबार बिहान भएको खेलमा इस्टर्न कन्फरेन्सका शीर्ष दुई टोली भिडेका थिए। जितसँगै नासभिलले एमएलएसको शीर्ष स्थान कायमै राखेको छ।
मेसीले अगस्ट ८ मा आफ्ना पिता जोर्गे मेसीको ६८ वर्षको उमेरमा निधन भएपछि पहिलोपटक सुरुआती टोलीबाट खेल सुरु गरेका थिए। उनले अगस्ट १२ मा क्लब लियोनविरुद्ध इन्टर मियामी ३–२ ले पराजित भएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। तर‚ उक्त खेलमा सुरुआत गरेका थिएनन्।
खेलको २३औं मिनेटमा मेसीले इन्टर मियामीलाई अग्रता दिलाउने उत्कृष्ट अवसर पाए। तर, उनको पेनाल्टी प्रहार नासभिलका गोलरक्षक ब्रायन स्वाकले बचाए। रिबाउन्डमा सर्जियो रेगुइलोनले गोल गरे पनि उनी पेनाल्टी क्षेत्रमा समयभन्दा अगाडि प्रवेश गरेको ठहर भएपछि गोल रद्द गरियो।
१६औं मिनेटमा एन्डी नाजारले एलियास सादको पासमा हेडमार्फत गोल गर्दै नासभिललाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको केही समयमै इन्टर मियामीले खेल बराबरी गर्यो। ४८औं मिनेटमा टेलास्को सेगोभियाले उत्कृष्ट स्पिन मुभमार्फत गोल गरे।
तर, त्यसको केही समयमै नासभिलले फेरि अग्रता लियो। मुख्तारले सादको पासमा गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए। त्यसको आठ मिनेटपछि साम सुरिजले पछाडिको एडीबाट आकर्षक गोल गर्दै नासभिलको अग्रता ३–१ बनाए। यो उनको यस सिजनको टोलीका लागि सर्वाधिक १२औं गोल थियो।
६२औं मिनेटमा इन्टर मियामीका गोलरक्षक रोको रियोस–नोभोले गोल किकलाई गलत अनुमान गरेपछि लडे। त्यसको फाइदा उठाउँदै मुख्तारले खुकुलो बल नियन्त्रणमा लिएर गोल गरे र नासभिललाई ४–१ को स्पष्ट अग्रता दिलाए।
मेसी इन्टर मियामीमा आबद्ध भएयता नासभिलको यो टोलीविरुद्ध दोस्रो जित मात्र हो।





-1786845162766.webp&w=3840&q=75)





-1786693668924.webp&w=3840&q=75)
