अलाभेस र सेभियाको जित
-1786845162766.webp&w=3840&q=75)
काठमाडौं। युरोपका शीर्ष पाँच घरेलु फुटबल लिगमध्ये स्पेनिस ला लिगाको नयाँ सिजन शनिबारबाट सुरु भएको छ।
पहिलो दिन अलाभेसले १० खेलाडीमा सीमित गेटाफेलाई ३–० ले पराजित गर्दा सेभियाले रायो भायेकानोलाई २–१ ले हराउँदै विजयी सुरुआत गरेको छ।
गेटाफेविरुद्ध अलाभेसको जितमा रियल मड्रिड पूर्वफरवार्ड मारियानो डियाज नायक बने। उनले एक गोल गर्नुका साथै दुई गोलका लागि असिस्ट गरे। गेटाफे ४२औं मिनेटदेखि १० खेलाडीमा सीमित भएको थियो।
७३औं मिनेटमा डियाजले नाहुएल टेनाग्लियाको हेडरका लागि पास उपलब्ध गराए। त्यसपछि उनले इन्जुरी टाइममा उत्कृष्ट प्रहारमार्फत अलाभेसको दोस्रो गोल गरे। खेलको अन्तिम मिनेटतिर उनले मिकेल रोड्रिग्वेजलाई गोलका लागि अवसर सिर्जना गरिदिए।
गेटाफेका किको फेमेनियाले पहिलो हाफ सकिनुअघि खतरनाक फाउल गरेपछि रातो कार्ड पाए। सुरुमा उनलाई पहेँलो कार्ड दिइएको थियो, तर भिडियो रिभ्यु गरेपछि निर्णय परिवर्तन गरी रातो कार्ड देखाइएको थियो।
दिनको अर्को खेलमा सेभियाले रायो भायेकानोलाई २–१ ले पराजित गर्यो। पछि परेको सेभियाले खेल उल्टाउँदै जित निकालेको हो। इन्जुरी टाइमको अन्त्यतिर जेरार्ड ‘पेके’ फर्नान्डेजले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
गत सिजन अलाभेस १४औं स्थानमा रहँदा रेलिगेसन क्षेत्रभन्दा एक अंक माथि थियो। गेटाफे भने सातौं स्थानमा रहँदै यस सिजन युरोपा कन्फरेन्स लिगमा स्थान बनाएको थियो। सेभिया १३औं स्थानमा रहँदा रायो भायेकानो आठौं भएको थियो।
यसैबीच, डिफेन्डिङ च्याम्पियन बार्सिलोना र जोसे मोरिन्होको नेतृत्वमा रहेको रियल मड्रिडले भने अर्को साताबाट नयाँ सिजन सुरु गर्नेछन्। विश्वकपपछि खेलाडीहरू ढिलो फर्किएका कारण दुवै टोलीले पहिलो चरणमा खेल्ने छैनन्।
लगातार तेस्रो स्पेनिस लिग उपाधिको लक्ष्यमा रहेको बार्सिलोनाले अगस्ट २३ मा एल्चेको भ्रमण गर्नेछ। लगातार दोस्रो सिजन मुख्य उपाधिबाट वञ्चित भएपछि मोरिन्होको नेतृत्वमा पुनर्गठित रियल मड्रिडले अगस्ट २२ मा एस्पान्योलसँग खेल्दै अभियान सुरु गर्नेछ।
युरोपेली फुटबल सिजनको औपचारिक सुरुआत भने बुधबार यूईएफए सुपर कपबाट भएको थियो, जहाँ पेरिस सेन्ट–जर्मेनले एस्टन भिल्लालाई २–१ ले हराएको थियो।
इङ्लिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’ र फ्रेन्च लिग–१ अर्को साताबाट सुरु हुनेछन् भने जर्मन बुन्डेसलिगाको नयाँ सिजन त्यसको एक सातापछि सुरु हुनेछ।
स्पेनमा आइतबार तीन खेल तय भए पनि सेल्टा भिगो र ओसासुनाबीचको खेल भने सेल्टाको बालाइदोस मैदानमा फङ्गसको संक्रमण देखिएपछि स्थगित भएको छ। उक्त खेल अगस्ट २७ मा पुनः खेलाइनेछ।
आइतबार हुने अन्य खेलमा १४ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको रासिङ सान्तान्देरले गत सिजन तेस्रो स्थानमा रहेको भिल्लारियलको आतिथ्यता गर्नेछ। अर्को खेलमा लेभान्तेले एस्पान्योलको सामना गर्नेछ।











-1786693668924.webp&w=3840&q=75)
