ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो
-1786693668924.webp&w=3840&q=75)
काठमाडौं। भारतले अक्टोबरमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिलसँग हुने बहुप्रतीक्षित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई प्राथमिकता दिँदै पहिलोपटक आयोजना हुन लागेको फिफा आसियान कपबाट नाम फिर्ता लिएको छ।
अखिल भारतीय फुटबल महासंघका उपमहासचिव एम. सत्यनारायणनले बिहीबार भारतले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेको पुष्टि गरेका हुन्। ‘हामीले फिफा आसियान कपबाट नाम फिर्ता लिएका छौं। ब्राजिल र आसियान कप दुवै खेल्न सम्भव छैन,’ उनले भने।
आसियान क्षेत्रका टोलीबीच नयाँ अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको यस प्रतियोगितामा भारतलाई गैर–आसियान टोलीका रूपमा सहभागी हुन निमन्त्रणा गरिएको थियो। भारतले सुरुमा निमन्त्रणा स्वीकार गर्दै प्रतियोगितामा सहभागिताका लागि सम्झौतासमेत गरेको थियो।
भारतलाई प्रतियोगिताको पहिलो डिभिजनको समूह ‘ए’ मा इन्डोनेसिया, मलेसिया र सिंगापुरसँग राखिएको थियो। प्रतियोगिता सेप्टेम्बर २१ देखि अक्टोबर ६ सम्मको फिफा विन्डोमा आयोजना हुने तय भएको थियो।
तर, अक्टोबर ३ मा कोलकाताको साल्ट लेक रंगशालामा ब्राजिलसँग भारतको मैत्रीपूर्ण खेल तय भएपछि दुवै प्रतियोगितामा सहभागी हुन समय तालिका नमिल्ने अवस्था सिर्जना भयो। अखिल भारतीय फुटबल महासंघले आसियान कपका लागि छुट्टै वा विकासात्मक टोली पठाउने विकल्पसमेत विचार गरेको थियो। तर‚ अन्ततः प्रतियोगिताबाट पूर्ण रूपमा बाहिरिने र उक्त अन्तर्राष्ट्रिय खेल अवधिमा अन्य मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरिएको छ।
ब्राजिलसँगको खेल गत महिना औपचारिक रूपमा घोषणा गरिएको थियो। यसैबीच, भारतले सन् २०२६ को विश्वकप खेलेका टोलीसँग पनि मैत्रीपूर्ण खेलका लागि छलफल गरिरहेको बताइएको छ। केप भर्डे र इरानसँग खेल हुन सक्ने चर्चा भए पनि ती खेलको औपचारिक पुष्टि भने भएको छैन।
भारत सन् २०२७ को एसियाली कपका लागि छनोट हुन नसकेको अवस्थामा उच्चस्तरीय अन्तर्राष्ट्रिय टोलीविरुद्ध नियमित खेल खेल्ने अवसरको कमीसमेत भोग्दै आएको छ। यस्तो अवस्थामा ब्राजिलसँगको खेल भारतका लागि ठूलो अन्तर्राष्ट्रिय अवसरका रूपमा हेरिएको छ।












