रश्मीको दोहोरो ह्याट्रिक
बिहिबार, २८ श्रावण २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रश्मीकुमारी घिसिङको दोहोरो ह्याट्रिकमा ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले भुटानी राष्ट्रिय महिला लिग ‘टियर–१’ मा फराकिलो जित हात पारेको छ।
बिहीबार सम्पन्न खेलमा ट्रान्सपोर्ट युनाइटेडले उगेन एकेडेमी डब्लूएफसीलाई ८–० गोलले पराजित गरेको हो।
ट्रान्सपोर्टको जितमा रश्मी घिसिङ एक्लैले ६ गोल गरिन्। मिना देउवा र अनिता केसीले समान एक–एक गोल थपे।
रश्मीले खेलको ९औं, १५औं, १८औं, २३औं, २९औं मिनेटमा गोल गरेकी थिइन्। उनले पहिलो हाफको इन्जुरी समयमा समेत गोल गर्दै आफ्नो व्यक्तिगत गोलसंख्या ६ पुर्याइन्।
त्यस्तै, मिना देउवाले खेलको ७७औं मिनेटमा गोल गरिन् भने अनिता केसीले ८८औं मिनेटमा गोल गर्दै ट्रान्सपोर्टको जित ८–० ले सुनिश्चित गरिन्।












