५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

काठमाडौं। स्पेनको विश्वकप फाइनलमा निर्णायक गोल गरेका फेरान टोरेसलाई फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई करिब ५० मिलियन युरो (५७ मिलियन अमेरिकी डलर) मा बेच्न बार्सिलोनाले सहमति जनाएको छ।
स्पेनिस सञ्चारमाध्यमका अनुसार २६ वर्षीय स्पेनिस फरवार्डलाई पाँच वर्षको सम्झौतामा फ्रान्स पठाउने विषयमा दुवै युरोपेली क्लबबीच सैद्धान्तिक सहमति भएको हो। बाँकी कागजी प्रक्रिया र मेडिकल परीक्षण पूरा भएपछि स्थानान्तरण औपचारिक हुने बताइएको छ।
टोरेसको बार्सिलोनासँगको सम्झौतामा अब एक वर्ष मात्र बाँकी थियो। क्लबले सोमबार पीएसजीबाट आएको ४० मिलियन युरोको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेको थियो।
बार्सिलोनाले सन् २०२१ मा म्यानचेस्टर सिटीबाट ५५ मिलियन युरोभन्दा बढी रकममा टोरेसलाई अनुबन्ध गरेको थियो। सन् २०२४ को समरमा हान्सी फ्लिक प्रशिक्षक बनेपछि उनलाई प्रायः सेन्टर–फरवार्डका रूपमा प्रयोग गरिएको थियो। पोल्यान्डका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको विकल्पका रूपमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
भ्यालेन्सियाको युवा प्रणालीबाट आएका टोरेसले पछिल्ला दुई सिजनमा बार्सिलोनाका लागि सबै प्रतियोगितामा ९४ खेल खेल्दै ४० गोल गरेका छन्। उनी विशेषगरी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर निर्णायक प्रदर्शन गर्न सफल हुँदै आएका थिए।
गत महिना अर्जेन्टिनाविरुद्ध भएको विश्वकप फाइनलमा अतिरिक्त समयमा स्पेनका लागि विजयी गोल गर्दै टोरेसले टोलीलाई दोस्रो विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
टोरेसको सम्भावित बहिर्गमनसँगै प्रशिक्षक फ्लिकलाई आक्रमणमा थप विकल्प खोज्ने दबाब बढ्नेछ। यसअघि नै लेवान्डोस्की र मार्कस रासफोर्ड क्लबबाट बाहिरिसकेका छन्।
बार्सिलोनाले भने इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी एन्थोनी गोर्डनलाई न्युक्यासलबाट तथा करिम अदेयेमीलाई बोरुसिया डर्टमन्डबाट भित्र्याइसकेको छ।












