बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

काठमाडौं। स्पेनिस शीर्ष डिभिजन ला लिगाको २०२६–२७ सिजन शनिबारबाट सुरु भइसकेको छ।
तर‚ लिगका दुई ठूला क्लब बार्सिलोना र रियल मड्रिडले भने आफ्नो अभियान अर्को साताबाट सुरु गर्नेछन्। विश्वकपको अन्तिम चरणसम्म पुगेका खेलाडीलाई पर्याप्त आराम र प्रि–सिजन तयारीको समय दिन यी दुई क्लबका सुरुआती खेल स्थगित गरिएको हो।
सिजनको पहिलो ‘म्याचडे’मा शनिबारदेखि खेल सुरु भए पनि जम्मा ६ खेल मात्र हुनेछन्। चार खेल पछि सारिएका छन्, जसमा बार्सिलोना र रियलका खेल पनि छन्।
स्पेनले जुलाई १९ मा अर्जेन्टिनालाई हराउँदै विश्वकपको उपाधि जितेको थियो। त्यस क्रममा बार्सिलोना र रियलका धेरै खेलाडी लामो समयसम्म राष्ट्रिय टोलीसँग व्यस्त रहे। त्यसैले उनीहरूलाई नयाँ क्लब सिजन सुरु गर्न पर्याप्त आराम र तयारीको समय नपुगेको भन्दै खेल सारिएको हो।
बार्सिलोना र रियल कहिलेबाट खेल्ने?
डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले अगस्ट २३ आइतबार अवे खेलमा एल्चेको सामना गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ। यता, जोसे मोरिन्होको दोस्रो कार्यकालमा नयाँ सुरुवआत गर्न लागेको रियलले अगस्ट २२ शनिबार एस्पान्योलको मैदानमा खेल्नेछ।
दुवै टोलीका दोस्रो खेल पनि अगस्टको अन्तिम साता सारिएका छन्। बार्सिलोनाले अगस्ट २७ मा क्याम्प नोउमा एथलेटिक क्लबको सामना गर्नेछ भने रियलले अगस्ट २६ मा सान्टियागो बर्नाबेउमा रियल सोसिडाडसँग खेल्नेछ।
बार्सिलोनाका लामिन यमल, पेड्री, डानी ओल्मो र पाउ कुबार्सीले बुधबार मात्रै प्रशिक्षणमा फर्किएका छन्। रियलमा पनि अवस्था उस्तै छ। जुड बेलिङ्घम, किलियन एमबाप्पे र औरेलियन चुआमेनीजस्ता खेलाडी विश्वकपको अन्तिम चरणसम्म पुगेका कारण ढिलो गरी क्लबको प्रशिक्षणमा फर्किएका छन्।
एट्लेटिको मड्रिडले किन खेल्नुपर्यो?
विश्वकप फाइनलमा सबैभन्दा धेरै खेलाडी पठाउने क्लबमध्ये एट्लेटिको मड्रिड थियो। स्पेनका चार र अर्जेन्टिनाका पाँच खेलाडी क्लबबाट विश्वकपमा सहभागी थिए। यद्यपि‚ नाहुएल मोलिना र थियागो अल्माडा त्यसपछि अन्य क्लबमा सरिसकेका छन्।
ला लिगाले एट्लेटिकोको मालागाविरुद्धको सुरुआती खेल पनि स्थगित गर्न सक्ने विकल्प दिएको थियो। तर‚ एट्लेटिकोको मेट्रोपोलिटानो रंगशालामा अगस्ट २८, २९ र ३० मा चर्चित कलाकार ‘द विकेन्ड’को कार्यक्रम तय भइसकेकाले खेल सार्न पर्याप्त ठाउँ रहेन।
त्यसैले डिएगो सिमियोनेको टोलीले अगस्ट १९ मै मालागाविरुद्ध खेल्नुपर्ने भएको छ। विश्वकप विजेता मार्कोस लोरेन्टे र एलेक्स बाएनालगायत खेलाडी सिजन सुरु हुनुभन्दा सात दिनअघि मात्र प्रशिक्षणमा फर्किएकाले उनीहरू खेल्ने वा नखेल्ने अझै निश्चित छैन।
ला लिगाको पहिलो ‘म्याचडे’ किन विभाजित भयो?
ला लिगाले २०२६–२७ सिजन अगस्ट १५ बाट सुरु गर्ने योजना बनाएको थियो। तर स्पेनिस खेलाडी संघ (एएफई) ले त्यसको विरोध गर्यो। विश्वकपको सेमिफाइनलसम्म पुगेका देशका खेलाडीलाई स्पेनिस फुटबलको सामूहिक सम्झौतामा तोकिएको अनिवार्य आराम र प्रि–सिजन तयारीका लागि पर्याप्त समय नपुग्ने संघको तर्क थियो।
लामो छलफलपछि जुन ९ मा ला लिगाका क्लब प्रतिनिधिहरूले पहिलो ‘म्याचडे’ विभाजन गर्ने निर्णय सर्वसम्मत रूपमा गरे। त्यसलाई स्पेनिस फुटबल महासंघले जुन ३० मा वार्षिक सभामार्फत अनुमोदन गर्यो।
सम्झौताअनुसार विश्वकपको सेमिफाइनलसम्म पुगेका खेलाडी रहेका क्लबले आफ्नो सुरुआती खेल १० दिनसम्म पछि सार्न पाउने व्यवस्था गरिएको छ।
यसले अगस्ट १५ देखि ३१ सम्म लगभग हरेक दिन ला लिगाका खेल आयोजना हुने अवस्था सिर्जना गरेको छ। अगस्टमा स्पेनका धेरै सहरमा तापक्रम उच्च हुने भएकाले स्वास्थ्य र सुरक्षाका कारण अधिकांश खेल साँझ वा राति खेलाउनुपर्ने हुँदा खेलहरू विभाजन गर्दा तालिका व्यवस्थापन गर्न पनि सहज भएको छ।
पहिलो खेलमा अगस्ट १५ शनिबार राति डेपोर्टिभो अलाभेसले गेटाफेसँग खेल्नेछ। त्यसपछि सेभिया र रायो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ।
अगस्ट १६ आइतबार रासिङ सान्टान्देरले भिल्लारियलको सामना गर्नेछ भने एस्पान्योलले लेभान्टेसँग खेल्नेछ। अगस्ट १७ सोमबार डेपोर्टिभो ला कोरुन्याले एल्चेको सामना गर्नेछ। त्यसपछि अगस्ट १९ बुधबार एट्लेटिकोले दोस्रो डिभिजनको प्ले–अफबाट आएको मालागालाई आफ्नो घरेलु मैदानमा आतिथ्यता दिनेछ।






-1786845162766.webp&w=3840&q=75)





