बंगलादेशले आसियान कपमा खेल्ने

काठमाडौं। आसियान क्षेत्रमा फिफाको आर्थिक सहयोगमा आयोजना हुन लागेको फुटबल प्रतियोगितामा भारतले नाम फिर्ता लिएपछि बंगलादेशले अन्तिम समयमा खेल्ने अवसर पाउने भएको छ।
इन्डोनेसियामा आयोजना हुने आसियान कपमा सहभागी टोलीहरूलाई आयोजकले आर्थिक सहयोग उपलब्ध गराउनेछ। टोलीहरूको यात्रा तथा बसोबासको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने भएकाले बंगलादेश फुटबल महासंघमाथि थप आर्थिक भार पर्नेछैन। सोही कारण महासंघले सहभागिता जनाउन लागेको हो।
बंगलादेशलाई सुरुमा आसियान कपमा सहभागी हुन निमन्त्रणा गरिएको थिएन। भारतले यसअघि नै प्रतियोगितामा स्थान बनाएको थियो। अर्को टोलीले नाम फिर्ता लिएपछि पाकिस्तानले सहभागी हुने अवसर पाएको थियो। बंगलादेशलाई किन सहभागी नगराइएको भन्ने विषयमा त्यतिबेला निकै आलोचना भएको थियो।
तर‚ भारतले अक्टोबर ३ मा ब्राजिलसँग हुने खेलमा ध्यान केन्द्रित गर्ने भन्दै आसियान कपबाट नाम फिर्ता लिएपछि बंगलादेशका लागि प्रतियोगिताको ढोका खुलेको हो।
यसअघि बंगलादेशले सेप्टेम्बरमा ढाकामा प्रतियोगिता आयोजना गर्ने योजना बनाएको थियो। त्यही समयमा किर्गिस्तानमा खेल्ने निमन्त्रणा पनि आएको थियो। यी विकल्पका कारण बंगलादेश फुटबल महासंघ केही अन्योलमा थियो। तर‚ आसियान कपमा सहभागी हुने अवसर पाएपछि उक्त अन्योलता हटेको छ।
भारतको स्थानमा बंगलादेशलाई ‘ए’ समूहमा राखिएको छ। उक्त समूहमा बंगलादेशले आयोजक इन्डोनेसिया, मलेसिया र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेशको टोलीमा हम्जा चौधरी पनि रहनेछन्।







-1786845162766.webp&w=3840&q=75)




