रसिला र प्रिन्सद्वारा उपाधि रक्षा
काठमाडौं। एपीएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन लिनिङ १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ तर्फको उपाधि रक्षा गर्न सफल भएका छन्।
पुरुष एकलको फाइनलमा एपीएफका प्रिन्सले आफ्नै क्लबका क्षितिज खनाललाई २१–१५, २१–७ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते। यो जितसँगै प्रिन्सले लिग चरणमा क्षितिजसँग बेहोरेको हारको बदलासमेत लिएका छन्।
उपाधिसँगै प्रिन्सले ४८ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरे। उपविजेता क्षितिजले ३० हजार रुपैयाँ हात पारे। पिस फिटनेस क्लबका विष्णु कटुवाल र आर्मी क्लबका प्रफुल महर्जन संयुक्त रूपमा तेस्रो भए।
तेस्रो भएका विष्णुले १२ हजार ५ सय रुपैयाँ तथा प्रफुलले १४ हजार रुपैयाँ प्राप्त गरे। महिला एकलतर्फ आर्मी क्लबकी रसिलाले पुलिसकी शेस्ना श्रीपालीलाई २१–१२, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरिन्।
तृतीय स्थानमा पुलिसकी निता लम्साल र एपिएफकी रिहाना शेरचन रहे। रसिलाले ५० हजार पुरस्कार प्राप्त गरिन्। दोस्रो भएकी शेस्नाले २८ हजार ५ सय, तृतीय भएकी रिहानाले १४ हजार र निताले १२ हजार ५ सय प्राप्त गरे।














