शक्तिले फेरि चुनाव हारे

भैरहवा। रुपन्देही क्रिकेट संघको अध्यक्षमा नेपाली राष्ट्रिय टोलीका पूर्वअलराउन्डर शक्ति गौचन पुन: पराजित भएका छन्।
संघको सोमबार सम्पन्न ३०औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन (निर्वाचन)मा उनी हरि थापासँग २० मतान्तरले पराजित भएका हुन्। योसँगै थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्।
प्रमुख निर्वाचन अधिकृत कुलमणि ज्ञवालीका अनुसार १२६ मतदाता रहेको संघमा ११९ मत खसेको थियो। थापाले ६९ मत पाए। उनका निकटम प्रतिस्पर्धी गौचनले भने ४९ मत मात्र पाउन सके।
चार वर्षअघि भएको निर्वाचनमा पनि गौचनलाई थापासँगै पराजित भएका थिए। त्यतिखेर थापाले ६० मत पाएका थिए। गौचनले भने ४० मत मात्र हासिल गरेका थिए।
सन् २००१ मा यू-१७ टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेका गौचनले २०१८ मा खेल जीवनबाट सन्न्यास लिएका थिए। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको ऐतिहासिक दिनमै उनले खेल जीवनबाट विश्राम लिएका हुन्।
हाल उनी भैरहवास्थित स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षणमा सक्रिय छन्। त्यस्तै, उपाध्यक्षमा खेमराज भुसाल विजयी भएका छन्। उनले ६९ मतका साथ सञ्जीव जोशीलाई पराजित गरेका हुन्।
जोशीले ५० मत प्राप्त गरे। सचिवमा उदय कुमारमल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्री विजयी भएको निर्वाचन अधिकृत विष्णुप्रसाद भट्टराईले जानकारी दिए।
सदस्यमा प्रशान्त विक्रम मल्ल, ताराप्रसाद पाठक, उमा अधिकारी, मनोज भण्डारी, नीरज प्रताप खाँण, पुनित पोख्रेल, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान र अन्तिम थापा विजयी भए।











-1785038983464.webp&w=3840&q=75)




