नेपालले जित्यो एसियन गेम्स छनोट

काठमाडौं। कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले एसियन गेम्स छनोट जितेको छ।
सोमबार सम्पन्न खेलमा नेपालले डीएलएस मेथडमार्फत हङकङलाई १९ रनले पराजित गरेको हो। हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। तर, वर्षा नरोकिएपछि नेपाल विजेता बनेको हो।
नेपालका ओपनर कुशलले सर्वाधिक ६५ रन बनाए। ४० बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे।
रोहितकुमार पौडेल ३५ र कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा अविजित रहे। हङकङका आयुष शुक्ला र इशान खानले समान विकेट राखे।
त्यसअघि सिंगा ओभल ग्राउन्ड सिंगापुरमा टस हारेर पहिला ब्याटिङ थालेको हङकङले अन्शुमान रथ र शाहिद वासिफको ८४ रनको विशाल साझेदारीसँगै ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।
हङकङका ओपनर अन्शुमानले सर्वाधिक ८० रन बनाए। ४५ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे। वासिफले भने २८ बलमा ७ चौका र ३ छक्कासहित ५५ रनको आक्रामक इनिङ्स खेले।
शिव माथुर २६ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्। नेपालका शेर मल्लले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट लिए।











-1785038983464.webp&w=3840&q=75)




