टाइम आउटको घटनामा क्यानले माग्यो भुटानसँग माफी

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले भुटानी ब्याटरलाई ‘टाइम आउट’ गरिएको घटनाबारे क्षमायाचना गरेको छ।
एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको खेलमा नेपाली टोलीकी उपकप्तान पूजा महतोले भुटानकी रित्शी छोडेनविरुद्ध टाइम आउटको अपिल गरेकी थिइन्।
उक्त घटना क्रिकेटको नियमअनुसार भए पनि यसले क्रिकेटको ‘स्पिरिट अफ द गेम’ अर्थात् खेलको भावना र मूल्य–मान्यतालाई प्रतिनिधित्व नगरेको क्यानका सचिव पारस खड्काले जनाएका छन् । उनले आफ्नो महिला राष्ट्रिय टोलीको उक्त कार्यप्रति औपचारिक रूपमा माफी माग्दै खेद प्रकट गरेका छन्।
‘नेपाल एक विकासोन्मुख क्रिकेट राष्ट्र भएको नाताले खेलकुद भावना, आपसी सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकता दिँदै आएको छ। तर, उक्त घटनाले ती मान्यताहरू पूरा गर्न नसकेको स्वीकार गर्दै भविष्यमा यस्ता गल्ती नदोहरिने प्रतिबद्धता व्यक्त गरिएको छ,’ उनले भनेका छन्।
नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याइरहेको अवस्थानमा छोडेन ब्याटिङ नै नगरि आउट भएकी हुन्। उनी क्रिजमा आउन समय लागेपछि नेपाली खेलाडीले अम्पायरसमक्ष टाइम आउटको अपिल गरेका थिए।
उनी ओपनर न्गावाङ छोडेन आउट भएपछि क्रिजमा आउनुपर्ने थियो। न्गावाङलाई कविता कुँवरले पहिलो बलमै बोल्ड गरेकी थिइन्। योसँगै रित्शी प्याड बाँधेर हेल्मेट र ग्ल्भ्स हातमा बोकेर कुद्दै आएकी थिइन्।
उनले उक्त सामान लगाउन ढिला गरेपछि उपकप्तान पूजाले अम्पायर समक्ष अपिल गरेकी थिइन्। त्यसपश्चात् अम्पायरले रित्शीलाई आउट दिएका हुन्। यद्यपि, भुटानी खेलाडी खुसी देखिएका थिएनन्।
क्रिकेटमा टाइम आउटलाई दुर्लभ तर महत्त्वपूर्ण नियम मानिन्छ। खेलका क्रममा ब्याटर बोल्ड, क्याच, रन आउट, एलबीडब्ल्यू आदिका माध्यमबाट आउट हुन सक्छन्। यिनैमध्ये एउटा निकै दुर्लभ तर महत्त्वपूर्ण प्रकारको आउट हो, टाइम आउट।
टाइम आउट तब लागू हुन्छ जब एक ब्याटर आउट भएपछि वा मैदान छोडेपछि अर्को ब्याटर निर्धारित समयभित्र मैदानमा आएर खेल्न तयार हुँदैन। क्रिकेटका अन्तर्राष्ट्रिय नियमअनुसार नयाँ ब्याटर सामान्यतया दुई मिनेटभित्र अर्को बल सामना गर्न तयार हुनुपर्छ। यदि उसले यो समयसीमा पूरा गर्न सकेन र विपक्षी टोलीले अपिल गर्यो भने अम्पायरले उसलाई टाइम आउट घोषित गर्न सक्छन्।
यो नियमको मुख्य उद्देश्य खेललाई अनावश्यक रूपमा ढिला हुन नदिनु र निर्धारित गतिमा सञ्चालन गर्नु हो। क्रिकेटमा समय व्यवस्थापन महत्त्वपूर्ण मानिन्छ, त्यसैले खेलाडीहरूले विकेट पतनपछि यथाशीघ्र मैदानमा प्रवेश गर्नुपर्ने अपेक्षा गरिन्छ।
टाइम आउट क्रिकेटको इतिहासमा अत्यन्तै दुर्लभ रूपमा देखिएको छ। धेरै वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा यो नियम प्रयोग भएको उदाहरण भेटिएको थिएन। तर, सन् २०२३ मा भएको आईसीसी विश्वकपका क्रममा श्रीलंकाली ब्याटर एन्जेलो म्याथ्यु टाइम आउटबाट आउट हुने पहिलो अन्तर्राष्ट्रिय खेलाडी बनेका थिए।
हेल्मेटको समस्याका कारण उनी समयमै खेल्न तयार हुन नसकेपछि विपक्षी बंगलादेशी टोलीले अपिल गरेको थियो र अम्पायरले नियमअनुसार उनलाई आउट घोषणा गरेका थिए। यस घटनाले विश्व क्रिकेटमा व्यापक बहस र चर्चा जन्माएको थियो।















