एजन्था मेन्डिस पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर एजन्था विन्सलो मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
श्रीलंकाका सफल स्पिन बलरमध्येका एक मेन्डिसले आफ्नो अन्तर्राष्ट्रिय करियरमा टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाचामा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए।
सन् २००८ को एसिया कपमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका मेन्डिसको अनुभव र रणनीतिक क्षमताले टोलीलाई थप प्रतिस्पर्धी बनाउने पोखरा एभेन्जर्सको विश्वास छ।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले मेन्डिसको नेतृत्व र अन्तर्राष्ट्रिय अनुभवले टोलीको प्रदर्शनसँगै युवा खेलाडीहरूको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।
मेन्डिसले पनि पोखरा एभेन्जर्ससँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै एनपीएलमा टोलीलाई उच्च स्तरमा प्रतिस्पर्धा गराउन आफू प्रतिबद्ध रहेको बताएका छन्।















