एम्बाप्पेलाई गोल्डेन बुट

काठमाडौं । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे लगातार दुईपटक फिफा विश्वकपको गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्।
२७ वर्षीय एम्बाप्पेले सन् २०२६ को विश्वकपमा आठ खेल खेल्दै १० गोल गरे। सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धामा उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन्।
एम्बाप्पेले यसअघि कतारमा सम्पन्न सन् २०२२ को विश्वकपमा आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए। लगातार दुई संस्करणमा सर्वाधिक गोलकर्ता बनेसँगै उनले विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।
उनी सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एउटै विश्वकपमा दोहोरो अंकमा गोल गर्ने पहिलो पुरुष खेलाडीसमेत बनेका छन्।
एउटै विश्वकपमा एम्बाप्पेभन्दा बढी गोल गर्ने खेलाडीमा फ्रान्सका जस्ट फोन्टेन र हंगेरीका सान्डोर कोक्सिस मात्र छन्। फोन्टेनले सन् १९५८ को विश्वकपमा १३ तथा कोक्सिसले सन् १९५४ मा ११ गोल गरेका थिए।
यससँगै एम्बाप्पे पुरुष विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता पनि बनेका छन्। उनको विश्वकप गोलसंख्या २२ पुगेको छ, जुन लियोनल मेसीको भन्दा एक गोल बढी हो।












