नेपालको जितमा रुविनाको अलराउन्ड प्रदर्शन

काठमाडौं। रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनसँगै नेपाल एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलनजिक पुगेको छ।
बिहीबार सम्पन्न खेलमा नेपालले भुटानलाई ५१ रनले हराएको हो। योसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ।
नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो। भुटानकी देचेन वाङ्मोले सर्वाधिक ३९ रन बनाइन्।
६० बल खेलेकी उनले ५ चौका प्रहार गरिन्। अन्यले भने ब्याटिङ गर्न सकेनन्। नेपालकी रुविनाले सर्वाधिक ३ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले १५ रन खर्चिइन्। रिया शर्माले २ विकेट लिँदा कविता कुँवर र मनिषा उपाध्यायले समान १ विकेट राखे।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै गुमाएर ११३ रन बनाएको थियो।
नेपालकी सीता रानामगरले सर्वाधिक ३७ रन बनाइन्। २८ बल खेलेकी उनले ६ चौका प्रहार गरिन्। रुविनाले भने २१ बलमा ३ चौकासहित २४ रन बनाइन्।
यी दुईबीच आठौं विकेटका लागि ३१ बलमा ४० रनको साझेदारी भएको थियो।
सोनी पाख्रिन ११३ र सम्झनाकुमारी खड्का १० रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।















