नेपालको पहिलो जित, कीर्गिस्तानमाथि सोझो सेटमा शानदार विजय

काठमाडौं । नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन काभा महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हल मा भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले उत्कृष्ट प्रदर्शन गर्दै कीर्गिस्तानलाई २५-१८, २५-२० र २५-१३ ले हरायो । यो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ ।
नेपालका लागि मिडल ब्लकर सुमित्रा रेग्मीले सर्वाधिक १९ अंक जोडिन् । उत्कृष्ट प्रदर्शन गरेपछि उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । समान दुई खेल खेलेको कीर्गिस्तान तीन अंकसहित तेस्रो स्थानमा रहेको छ ।
यसअघि पहिलो खेलमा नेपाल भारतसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । उक्त खेलमा जित हात पारे नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।











-1785038983464.webp&w=3840&q=75)



