युवा खेलाडीसँगै सुखद् नतिजाको खोजिमा नेपाल
-1779414865022.jpeg&w=3840&q=75)
काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपमा बिहीबार आयोजक नेपाल र भारत भिड्दैछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपरान्ह्र १५:३० बजेबाट सुरु हुनेछ।
यी दुई टोली समूहमा ‘ए’मा छन्। । सन् २०२४ मा भएको च्याम्पियनसिपको पहिलो संस्करणमा पनि यी दुई टोली भिडेका थिए।
लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो। तर, फाइनलमा भने सोही स्कोर उल्टाउँदै भारतले उपाधि हात पार्यो। नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेकी अरुणा शाही अहिले अस्ट्रेलियामा छिन्।
उनीसँगै हिटर सरस्वती चौधरी, आउटसाइड हिटर पुनम चन्द, ब्लकरद्वय कविता भट्ट र साफिया पुन तथा उदीयमान खेलाडी मनीषा चौधरी पनि यसै वर्ष अस्ट्रेलिया पुगेका छन्।
अघिल्लो टोलीबाट निरुता र उषासँगै मिडल ब्लकर सुमित्रा रेग्मी, लिबेरोद्वय सलिना श्रेष्ठ र शान्तिकला तामाङ, स्पाइकरद्वय कामना विष्ट, सेटर प्रगति नाथ मात्र टोलीमा बाँकी छन्। आरती सुवेदीले भने अन्तिम टोलीमा स्थान बनाउन सकेनन्।
सिनियरको अभावसिर्जित ‘ग्याप’ पूरा गर्न केही नयाँ खेलाडीलाई अवसर दिइएको छ। टोलीमा सलिना बुढा मगर र जसना महतोलाई समावेश गरिएको छ।
त्यस्तै, यू-१९ र यू-२० राष्ट्रिय टोलीबाट अनुभव बटुलेका खेलाडीलाई पनि राखिएको छ। एलिसा मानन्धर, वसन्ती साउद, सुनीता खत्री, रिमा कुँवर र मीना सुनुवारलगायत खेलाडी अहिले टोलीमा छन्।
यमुना रसाइली, आसिका क्षेत्री र जेनिसा विश्वकर्मालगायत केही खेलाडी भने स्थान बनाउन सकेनन्। कप्तान निरुताले विगतमा फाइनलमा पुगेर हारेको कारण पनि यसपल्ट ‘प्लस पोइन्ट’ हुने बताइन्।
‘हामीले पहिला पनि फाइनलमा पुगेर हारेका थियौं। तर, लिग चरणमा त हराएका थियौं। अहिले सिनियर जुनियर सबै क्षमतावान् खेलाडी भएका कारण भारतलाई फाइनलमा हराएर उपाधि जित्ने धोको छ,’ उनी भन्छिन्।











-1785038983464.webp&w=3840&q=75)



