निरुता बनिन् महिला भलिबल टोलीको कप्तान

काठमाडौं। नेपाली महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त भएकी छन्।
नेपाल भलिबल संघले उनलाई शुक्रबार कप्तानमा नियुक्त गरेको हो। यसअघि कप्तानी जिम्मेवारीमा अरुणा शाही थिइन्।
उनी अस्ट्रेलिया पलायन भएसँगै भलिबल टोली कप्तानविहीन थियोे। ठगुन्नाको कप्तानीमा नेपालले काभा महिला भलिबल च्याम्पियनसिप खेल्नेछ।
८ टोलीको सहभागिता रहने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आगामी ८ देखि १५ जेठसम्म हुनेछ।
यसपटकको प्रतियोगितामा उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, कजाखस्तान, भारत, माल्दिभ्स, श्रीलंका र नेपालले सहभागिता जनाउँदै छन्।
अघिल्लो संस्करण नेपालमै आयोजना हुने तय भए पनि ८-९ सेप्टेम्बरमा भएको जेन-जी आन्दोलनका कारण प्रतियोगिता ताजकिस्तानमा सारिएको थियो, जसमा नेपालले सहभागिता जनाएन।
एक वर्षको ‘ग्याप’ पछि नेपाल प्रतियोगितामा फर्किन लागेको हो। नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित कीर्गिस्तान, भारत र माल्दिभ्स छन्। यस्तै, अर्को समूहमा इरान, कजाखस्तान, श्रीलंका र बंगलादेश छन्।
नेपालले पहिलो खेल ८ जेठमा भारतसँग खेल्नेछ। त्यही दिन कीर्गिस्तान र माल्दिभ्स तथा इरान र बंगलादेश पनि भिड्नेछन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल १५ जेठमा हुनेछ।











-1785038983464.webp&w=3840&q=75)



