खेलाडी छनोट विवाद : जिम्मेवारी छाड्ने निर्णयमा जगदिश

काठमाडौं। पछिल्लो समय देखिएको खेलाडी छनोट विवादपछि भलिबल प्रशिक्षक जगदिश भट्टले जिम्मेवारी छाड्ने घोषणा गरेका छन्।
भट्टले सामाजिक सञ्जालमार्फत अबदेखि आफू राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यक्रमबाहेक (त्यो पनि जागिरमा रहेसम्म) भलिबलसम्बन्धी कुनै पनि गतिविधि, छनोट वा सहभागितामा संलग्न नहुने स्पष्ट पारेका हुन्।
भट्ट हाल राखेपका प्रमुख भलिबल प्रशिक्षकको हैसियतमा कार्यरत छन्। तीन दशक भलिबलमा रहेका उनले लेखेका छन्, ‘यो यात्रामा मैले जे–जे गरें, त्यो पेशा र राष्ट्रको धर्म सम्झेर मात्र गरें। अझ राम्रो गर्न खोज्दा आएका समस्या समाधान गर्दै यहाँसम्म आइपुगेको छु। तर, अब त्यो अवस्था रहेन।’
उनले निःस्वार्थ भावनाले काम गर्दा पनि आफ्नै भलिबल परिवारबाट सहयोगको सट्टा असहयोग र आलोचना मात्र पाएको गुनासो गरेका छन्।
‘अभाव र प्रभावबीच निःस्वार्थ भावले काम गर्दा आफ्नै भलिबल परिवारबाट पटक–पटक असहयोग र आलोचना सहनुपर्यो। यसकै कारण मेरो स्वास्थ्यसमेत प्रभावित भएको छ। त्यसैले नकारात्मक र स्वार्थी झुन्डबाट अलग हुँदै अब विश्राम लिने निर्णय गरेको छु। तर भलिबल खेल मेरो आत्मा हो, यो सदैव मेरो जीवनसँग रहनेछ,’ उनले भनेका छन्।