फाइनल खेल्न न्यु डायमन्ड र एपिएफ भिड्ने

पोखरा। स्टेप रामपुरमाथि सहज जित निकाल्दै विभागीय टोली एपिएफ क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालाको कभर्डहलमा बिहीबार सम्पन्न पोल ‘ए’ को अन्तिम खेलमा एपिएफले प्रतियोगिताकै कमजोर टोली रामुपरमाथि ३–० को सोझो सेटमा जित निकालेको हो।
योसँगै एपिएफले फाइनल प्रवेश गर्न पोल ‘बी’ को विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग खेल्ने भएको छ।
न्यु डायमन्डले गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लबलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
लगातार दोस्रो हार बेहोरेको रामपुरले भने प्रतियोगिता यही सक्काएको छ। पहिलो खेलमा रामपुरलाई नेपाल पुलिस क्लबले यसरी नै सोझो सेटमा पाखा लगाएको थियो।
निरुता ठगुन्नाबाहेक बेन्चको खेलाडी खेलाए पनि एपिएफले अन्तिम चारमा स्थान बनाउन खासै संघर्ष गर्नुपरेन। पहिलो र दोस्रो सेट समान २५–६ र २५–६ ले आफ्नो बनाएको थियो। तेस्रो तथा अन्तिम सेट पनि यसरी नै २५–७ ले जित्दै न्यु डायमन्डसँगको भेट पक्का गर्यो।