१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न ५४ करोड बजेट छुट्टाइयो

काठमाडौं। सरकारले सुर्खेतको वीरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न बजेट विनियोजन गरेको छ।
पटकपटक सर्दै आएको प्रतियोगिता आयोजना गर्न ५४ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन्।
‘सुर्खेतको वीरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कुल ५४ करोड बजेट विनियोजन गरेको छु ,’ उनले भने।
सरकारले जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो। तर, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले चैत २९ गते प्रतियोगिता नहुने घोषणा गरेका हुन्।
राष्ट्रिय प्रतियोगिता सञ्चालनसम्बन्धी निर्देशिका मिच्दै खेलकुदमन्त्री चौधरीले प्रतियोगिता तयारीको सन्दर्भमा ११ उपसमिति गठन गरिसकेका थिए। उपसमिति गठन गरेर खेलकुदमन्त्रीले तयारी अघि बढाएको जस्तो देखाए पनि प्रतियोगिता आयोजना हुनेमा उपसमितिका संयोजक र सदस्यहरू नै विश्वस्त देखिएका थिएनन्।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि खेलकुदमन्त्री चौधरीले तीनपल्ट प्रतियोगिताको मिति सारिसकेका छन्। सुरुमा प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो।
तर, सरकार परिवर्तन भएसँगै प्रतियोगिता अन्योलमा परेको थियो। त्यसपछि प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरिएको थियो। त्यसलाई पनि सारेर जेठ पहिलो सातामा पुर्याइएको थियो।
सरकारले प्रतियोगिताका आयोजना गर्न अघिल्लो बजेट भाषणमै ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको थियो। कर्णाली प्रदेशले पहिलोपल्ट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएको हो। यसका लागि प्रदेश सरकारले झन्डै दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)







