बार्सिलोनाले छान्यो ५ कप्तान, १९ वर्षीय यमल पनि सूचीमा

काठमाडौं। २०२६–२७ सिजन सुरु भएको दुई साता नबित्दै डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले टोलीका पाँच खेलाडीलाई कप्तान छनोट गरेको छ।
हान्सी फ्लिकको टोलीले ला लिगामा तीन खेल खेलिसकेको छ भने युरोपियन च्याम्पियन्स लिग पनि सुरु हुने क्रममा छ। स्पेनी सञ्चारमाध्यम ‘मुन्डो डेपोर्टिभो’का अनुसार फ्लिकले ब्राजिलियन फरवार्ड राफिन्हा र स्पेनी मिडफिल्डर पेड्रीलाई क्रमशः पहिलो र दोस्रो कप्तानका रूपमा स्थायी जिम्मेवारी दिएका छन्। राफिन्हालाई फ्लिकले टोलीका सबैभन्दा भरपर्दा खेलाडीमध्ये एक मान्दै आएका छन्।
हुआन गाम्पर ट्रफीअघि फ्लिकले व्यक्तिगत रूपमा राफिन्हा, पेड्री र एरिक गार्सियालाई कप्तानका रूपमा रोजेका थिए। त्यसपछि भएको मतदानबाट थप दुई खेलाडी छनोट भएका हुन्। मतदानबाट एरिक गार्सिया, फ्रेन्की डी योङ र १९ वर्षीय लामिन यमल कप्तानको समूहमा परेका छन्।
अनुशासनका कारण गार्सिया बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी बनेका छन्। फ्लिकको विश्वास जितेपछि पछिल्ला दुई सिजनमा उनको नेतृत्व क्षमता पनि उल्लेख्य रूपमा विकसित भएको बताइएको छ। क्लबको व्यवस्थापनमा रहेका कतिपय व्यक्तिले समेत उनलाई कप्तानका लागि योग्य खेलाडीका रूपमा हेर्दै आएका थिए।
नेदरल्यान्ड्सका मिडफिल्डर फ्रेन्की डी योङ कप्तानको सूचीमा पर्नु भने अपेक्षित मानिएको छ। उनले यसअघि पनि कप्तानको जिम्मेवारी सम्हालिसकेका छन् र ड्रेसिङ रुममा उनलाई रुचाइएको बताइन्छ। मार्क–आन्द्रे टेर स्टेगेनको बिदाइपछि डी योङ टोलीका सबैभन्दा अनुभवी खेलाडी बनेका छन्।
तर‚ कप्तानको सूचीमा १९ वर्षीय यमलको समावेशीकरण भने सबैभन्दा ठूलो आश्चर्य बनेको छ। स्पेनी फरवार्ड यमलले मैदानमा आफ्नो खेलबाट टोलीको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। तर, यति कम उमेरमै कप्तानको समूहमा समावेश हुनु उल्लेखनीय मानिएको छ।
बार्सिलोनाले आइतबार ला लिगामा भ्यालेन्सियाविरुद्ध आफ्नो चौथो खेल खेल्दैछ। त्यसअघि हुने पत्रकार सम्मेलनमा प्रशिक्षक फ्लिकले कप्तानहरूको विषयमा पनि धारणा राख्न सक्ने अपेक्षा गरिएको छ।










-1788574492302.webp&w=3840&q=75)

