पोखरा। अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगितामा दुई विदेशीसहित ६ टोलीको सहभागिता जनाउने भएका छन्।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता बैशाख १८ गतेदेखि हुन लागेको हो।
विदेशी टोलीको रुपमा भारत र इरानका टोली छन्। स्वदेशी टिमको रुपमा तीन विभागीयसहित गण्डकी प्रदेश रहनेछ। सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग खेल खेलाइनेछ। लिगपछि दुवै समूहमा शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। फाइनल खेल बैशाख २२ गते हुनेछ। भारतको टोलीबाहेक सबै टोली पोखरा आइसकेका छन्।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँ पाउने आयोजकले जनाएको छ। तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने बताइएको छ।