काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच–प्लेको पहिलो दिन नम्बर एक प्रो भुवन नगरकोटी र नम्बर दुई खेलाडी नीरज तामाङले फराकिलो जितसहित क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति, धनबहादुर थापा, रवि खड्का, प्रदीपकुमार लामा, तोरणविक्रम शाही र रामे मगरले पनि अन्तिम आठमा स्थान बनाए।
रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीले १६औं वरीयताका पशुपति शर्मालाई ५/४ ले हराए। चार होल अगाडि जित निकालेका उनले अब क्वार्टरफाइनलमा धनलाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्।
आठौं वरीयताका धन र नवौं वरीयताका भुवनकुमार रोक्काबीच कडा प्रतिस्पर्धा चलेको थियो। १७औं होलको समाप्तिसम्म दुवै बराबरीमा थिए। १८औं होल जितेर धनले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।
नेपाल नम्बर २ प्रो नीरजले १५औं वरीयताका सूर्यप्रसाद शर्मालाई सहजै ५/४ ले हराए। चार होल अगाडि पहिलो चरणको खेल जितेका नीरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन्। नीरजले अब सातौं वरीयताका रामेसँग क्वार्टरफाइनल खेल्नेछन्। रामेले १०औं वरीयताका दीपक मगरलाई ४/३ को नतिजामा माथ दिए।
डिफेन्डिङ च्याम्पियन तेस्रो वरीयताका दिनेशले १४औं वरीयताका रमेश अधिकारीलाई ४/३ ले माथ दिए। उनले अब अनुभवी तोरणसँग सेमिफाइनल प्रवेशको लागि खेल्नेछन्। ११औं वरीयताका तोरणसँग छैटौं वरीयताका जयराम श्रेष्ठ ३/२ ले पराजित हुन पुगे।
यसै गरी चौथो वरीयताका रविले १३औं वरीयताका टंकबहादुर कार्कीलाई ३/२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। रविले अब १२औं वरीयताका प्रदीपसँग खेल्नेछन्। प्रदीपले पाँचौ वरीयताका सञ्जय लामाविरुद्ध २/१ को अप्रत्याशित नतिजा निकाले।
सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले प्रतिस्पर्धा गरेका हुन्। प्रतियोगिताको कुल नगद पुरस्कार राशि दुई लाख ५० हजार छ। उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन्। यसै गरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन्। क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार प्राप्त गर्नेछन्। पहिलो चरणमा पराजित भएका आठ खेलाडीले नगद ६/६ हजार पाउनेछन्।
बुधबार क्वार्टरफाइनल र सेमिफाइनल खेल १८/१८ होलको हुनेछ। फाइनल र तेस्रो स्थानको लागि बिहीबार प्रतिस्पर्धा हुनेछ। फाइनल भने ३६ होलको हुनेछ।